बीपी अनमोल, महेन्द्रनगर ०३ चैत ।
सुदूरपश्चिमको पर्यटकीय गन्तव्य शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रवद्र्वन प्रचार प्रसार गर्न आयोजना गर्न लागिएको शुक्लाफाँटा पर्यटन महोत्सव २०७३ को तयारी पुरा भएको छ । सरकारले आरक्षबाट स्तर बृद्वि गरी शुक्लाफाँटालाई निकुञ्जमा रुपान्तरण गरेपछि पहिलो पटक यसको प्रचार प्रसारका लागि महोत्सव आयोजना गर्न लागिएको हो ।
महोत्सवको तयारीका बारेमा जानकारी दिन बुधवार आयोजित पत्रकार सम्मेलनमा आयोजकले तयारी पुरा भएको जानकारी दिएको हो । नाटा सुदूरपश्चिमको आयोजना र पर्यटन बोर्डको प्रवद्र्वकमा महोत्सव आयोजना हुन लागेको हो । चैत ४ गतेदेखी शुरु हुने महोत्सव चैत ६ गतेसम्म सञ्चालन हुने आयोजक संस्था नाटा सुदूरपश्चिमका उपाध्यक्ष परमानन्द भण्डारीले जानकारी दिनुभयो ।
आवश्यक प्रचार प्रसार र राज्यको प्राथमिकतामा समेत शुक्लाफाँटा पर्न नसकेकाले पर्यटकीय गन्तव्य बन्न सकिरहेको छैन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सहित सुदूरपश्चिम क्षेत्रका विभिन्न धार्मिक तथा अरु पर्यटकीय क्षेत्रकाको समेत महोत्सवका समयमा प्रचार प्रसार गर्ने लक्ष्य आयोजकको छ ।
महोत्सवको तयारीको लागि केही समयअघि भारत उत्तराखण्डका विभिन्न ट्राभल एजेन्सिका पदाधिकारीहरुसंग समेत छलफल गरिएको थियो । महोत्सवका माध्यमबाट शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भित्र रहेका संरक्षित वन्यजन्तु, विशाल घाँसे मैदान, ताल तलैया र दुर्लभ वनस्पतिका बारेमा महोत्सवमा सहभागीलाई जानकारी गराउने र काठमाण्डौ लगायतका भारतका विभिन्न स्थानबाट आउने पाहुनाहरुलाई निकुञ्जको स्थलगत रुपमै भ्रमण गराउने लक्ष्य राखिएको छ ।