
सीताराम ओझा, धनगढी ।
धनगढी रंगशालामा अत्याधुनिक सुविधा सहितको वहुउद्देश्यीय कभर्डहल निर्माणको काम सुरु भएको छ । प्राविधिक सहितको टोलीले नक्सा अनुसारको निर्माण कार्य सीमाना छुट्याउदै अगाडी वढाएको हो । पहिलो चरणमा आएको वजेटले जग निर्माणको काम सम्पन्न हुने र वहुउद्देश्यीय कभर्डहलको चैतसम्ममा जग निर्माणको काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

राखेपका सदस्य सचिव केशव विष्टले धनगढीको रंगशाला परिषरभीत्र गत वैशाखमा शिलान्यास गरेको व्यापारिक सटर सहितको वहुउद्देश्यीय कभर्डहलको निर्माण कार्य सुरु गरिएको हो । राखेपले चालु आर्थिक वर्षका लागि ३० लाख रकम पठाएपछि निर्माणको काम सुरु गरिएको छ । गत आर्थिक वर्षमा आएको १० लाख वजेटवाट ३ लाखमा डिजाईन ईस्टिमेट र नक्सा तयार पारिएको थियो भने ७ लाखको ईटा किनेर रंगशाला परिसरमा थुपारिएको छ ।
थप वजेट आउने भएकोले भएको वजेटले समयमै निर्माणको काम गर्ने कैलाली जिल्ला खेलकुद विकास समितीका अध्यक्ष दिपक सिंहले वताए । आएको वजेटवाट जे जति सकिन्छ निर्माणको काम सुरु हुन्छ उनले भने– एकै पटक धेरै वजेट आउन नसक्ने भएकोले किस्ता किस्तामा आउने वजेटवाट निर्माण कार्य जारी रहन्छ । उपभोक्ता समिती मार्फत वहुउद्देश्यीय कभर्डहल निर्माणको काम सुरु गरिएको हो ।
२१ वटा व्यापारिक सटर सहित ११२ फिट लम्वाई र ७४ फिट चौडाईको हल सहित विभिन्न खेलका ईन्डोर मैदान, १५ सय क्षमताको प्याराफिट र माथिल्लो तलामा गेष्ट हाउस क्रमागत रुपमा निर्माण गरिने छ । हाल आएको वजेटले जग निर्माणको काम गर्न सकिने भएकोले आगामी चैतसम्म जग निर्माणको काम सम्पन्न गर्ने उपभोक्ता समितीले जनाएको छ । चैतसम्म जग हाल्ने काम सम्पन्न गर्ने लक्ष्य राखेका छौं उपभोक्ता समितीका अध्यक्ष योगेन्द्र चन्दले भने– भएको वजेटवाट गुणस्तरीय काम गर्ने छौं । निर्माणको काम तिव्र गतिमा हुन्छ ।
हाल जिर्ण अवस्थामा रहेको कभर्डहलमा धेरै खेलहरुको अभ्यास गर्नुपर्ने वाध्यता रहेको छ । जस कारण खेलाडीहरुले आरामसँग प्रशिक्षण गर्न नपाउँदा राम्रो प्रदर्शन गर्न सकेका छैनन् । तर केही वर्षभित्र सम्पुर्ण निर्माण कार्य सकिएमा यसले खेलकुद क्षेत्रको विकास गर्नका लागि मदत्त पुग्ने विश्वास गरिएको छ । अहिले ठाउँ अभावमा भएको कभर्डहलभित्र धेरै खेल एउटैमा खेलाउनु पर्ने वाध्यता छ ।
कतिपय खेलका प्रशिक्षकहरु पनि छैनन् कैलाली जिल्ला खेलकुद विकास समितीका उपाध्यक्ष वावुराजा श्रेष्ठले भने– यो निर्माण सम्पन्न भएमा खेलाडीहरुलाई राहत हुनेछ । सटरको आम्दानीले प्रशिक्षमलाई रकम दिएर पनि राम्रा खेलाडी उत्पादन गर्न सकिन्छ । ब्यापारिक सटर सहितको वहुउद्देश्यीय कभर्डहल निर्माण भएमा एकातिर कैलाली जिल्ला खेलकुद विकास समितीलाई आर्थिक आम्दानी हुनेछ भने अर्कोतिर खेलाडीहरुको प्रतिभा तिखार्नका लागि अत्याधुनिक सेवा र सुविधा पाईने आशा खेलप्रेमीहरुले गरेका छन ।