दीपक जोशी, धनगढी १८ चैत्र ।
धनगढी उपमहानगरपालिकाको मेयर पदको टिकट पाउन कांग्रेस र एमालेका नेताहरुबिच आन्तरीक रुपमा तछाड मछाड भईरहेका बेला निर्णायक शक्तीका रुपमा हेरिएको माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरुले भने मेयर पदका लागि खुलेर ईच्छा देखाउन सकेका छैनन । कांग्रेस र एमालेका नेताहरु मेयरको टिकटका लागि नेतृत्व रिझाउन लागिरहेका बेला माओवादी र राप्रपाका नेताहरुले भने अझैसम्म खुलेर ईच्छा देखाएका छैनन ।
हुन त माओवादी र राप्रपा दुबै पार्टीबाट केहि नेताहरुको नाम मेयरको उमेद्वारका रुपमा चर्चामा आएको छ तर उनिहरुले अहिले नै मेयरमा चुनाव लड्ने कुनै निर्णय लिई नसकेको बताएका छन । माओवादी केन्द्रबाट युवा नेता रमेश धामी, केन्द्रीय सदस्य रामसमझ राना नगर अध्यक्ष निर्मल शाह, केन्द्रीय सदस्य राधाकृष्ण अधिकारी, तिलकबहादुर सिंह, केन्द्रीय सल्लाहकार डिल्लीराज खड्काको नाम धनगढीको मेयरको उमेद्वारका रुपमा चर्चामा छ ।
तर संभावित मेयरका उमेद्वारका रुपमा हेरिएका युवा नेता रमेश धामीले धनगढीको मेयरमा चुनाव लड्न आफु ईच्छुक नरहेको बताउनुभएको छ । यस्तै हाल माओवादी केन्द्रको धनगढी उपमहानगरपालिकाका ईन्चार्ज रहनुभएका अर्का युवा नेता निर्मल साहको नाम पनि मेयरको उमेद्वारको रुपमा चर्चामा छ । तर उक्त चर्चा अनावश्यक हल्ला मात्रै भएको साह बताउनुहुन्छ ।
पार्टीको उपमहानगर ईन्चार्ज भएका कारण आफुलाई संभावित उमेद्वारको रुपमा हेरिएको कुरा अस्वभाभिक नभएको बताउने साहले आफुले चुनाव लड्ने कुनै संभावना नरहेको बताउनुभयो । तर यस अघि दुई पटक समानुपातिक उमेद्वार समेत रहनुभएका नेता रामसमझ रानाले भने मेयर पदमा चुनाव लड्ने ईच्छा देखाउनुभएको छ । उहाँले पार्टीले आफुलाई मेयर पदको टिकट सर्वसम्मत रुपमा दिने विस्वास पनि व्यक्त गर्नुभयो ।
यस्तै चौथो ठुलो दल राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पनि धनगढीको मेयरको उमेद्वारका लागि तिन जना नेताको नाम चर्चामा छ । राप्रपाबाट गत संविधानसभाको चुनावमा उम्मेदवार बनेका राजेश भण्डारी नगर अध्यक्ष रोम स्वाँर र पूर्व केन्द्रीय सदस्य पुष्कर भट्ट मेयरको उमेद्वारका लागि दाबेदारका रुपमा देखिएका छन । तर राप्रपा भित्र पनि धनगढीको मेयरका लागि नेताहरुबिच टिकटका तछाड मछाड देखिएको छैन ।
राप्रपा नेता राजेश भण्डारीले अन्य पार्टीका उमेद्वार हेरेर आफ्नो पार्टीले उमेद्वार खडा गर्ने बताउनुभयो । जिल्ला अध्यक्ष गजेन्द्र सिंहले भने यस अघि संसदिय निर्वाचन लडिसकेकोले राजेश भण्डारी र पुष्कर भट्टको नाम चर्चामा आएपनि पार्टीमा अझै छलफल जारी रहेको बताउनुभयो । माओवादी केन्द्र र राप्रपाले कुनै एक ठुलो दलसंग कार्यगत एकता गरेर चुनाव लड्ने गरी भित्रभित्रै छलफल चलाईरहेका पनि श्रोतले जनाएको छ ।