बीपी अनमोल, महेन्द्रनगर ०९ आषाढ ।
नेकपा माओवादी केन्द्रले भीमदत्त नगरपालिकालाई उज्यालो शहर बनाउने सहितका विभिन्न प्रतिबद्वता सार्वजनिक गरेको छ । माओवादीको भीमदत्त नगरपालिका समितिले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी प्रतिबद्वता पत्र सार्वजनिक गरेको हो ।
उज्यालो भीमदत्त नगरपालिकालाई बनाउने अभियान अन्र्तगत शोलार खरिद गर्ने परिवारलाई र घरमा रहेको गोबर ग्याँस प्लान्टमा शौचालय जडान गर्ने, गड्डाचौकी देखी महेन्द्रनगरसम्मको राजमार्ग, गल्लीहरु, संघसंस्था सहितका विभिन्न ठाउँमा शोलार प्यानलबाट उज्यालो व्यवस्थापन गर्ने माओवादी केन्द्रले जनाएको छ ।
नेकपा माओवादी केन्द्रका तर्फबाट मेयरका प्रत्यासी गोपाल रसाईलीले ५ वर्षभित्रमा नगरमा विद्यमान लोडसेडिङ्ग अन्त्य गरी उज्यालो शहरका रुपमा अघि बढाउने प्रतिबद्वता जनाउनुभयो । ‘हामीले जित्यौं भने यो नगरको मुहार फेर्ने छौं’ पत्रकार सम्मेलनमा मेयरका प्रत्यासी गोपाल रसाईलीले भन्नुभयो,‘ शिक्षा, स्वास्थ्य, रोजगार र कृषि क्षेत्रमा ठूलो परिवतर्न ल्याउने हिसाबले काम गर्नेछौं’ ।
नेकपा माओवादी केन्द्र भीमदत्त नगरपालिकाले सार्वजनिक प्रशासन, सुशासन र सामाजिक सुरक्षा, यातायात, सडक र पूर्वाधार विकास, भूमि नीति लागू गरेर अघि बढ्ने समेत जनाएको छ । प्रतिबद्वता पत्रमा शिक्षा र स्वास्थ्य, ग्रामिण कृषि विकास तथा पशुपालन लगायतका क्षेत्रमा जोड दिएर नगरवासीहरुको आर्थिक उन्नतीमा ध्यान दिने माओवादी केन्द्रले जनाएको छ ।
ढल व्यवस्थापन हुन नसकेको भीमदत्त नगर क्षेत्रलाई त्यसबाट अन्त्य गर्ने, युवा खेलकुद तथा स्वरोजगार, शहिद तथा वेपत्ता पारिएका परिवारहरुको हकमा विशेष कार्ययोजना ल्याउने समेत नेकपा माओवादी केन्द्रले जनाएको छ ।‘
हामी नगरपालिका मात्रै विकास गर्ने अभियानमा छैनांै’ मेयरका प्रत्यासी गोपाल रसाईलीले भन्नुभयो,‘ हामीले यो नगरपालिकाको विकासलाई माथि उठाएर उपमहानगरपालिकाका लागि समेत आवश्यक पर्ने पूर्वाधार निर्माण गर्छौ’ ।