This is a test

भुमीहिनका पिडा : पुस्ता फेरियो तर लालपुर्जा पाएनन् (अडियो रिपोर्ट)

0

नवराज पनेरु, धनगढी ०३ आषाढ ।


२०२१ सालमा बस्ती बसेको धनगढी उप–महानगरपालीका वडा नम्वर ४ का बासीन्दालाई पटक–पटक भएका चुनावमा लालपुर्जा दिने आश्वासन सहित भोट मागेका नेताहरु फेरी त्यहि आश्वासन बाड्दै चुनावमा होमीएका छन् । वडा नम्वर ४ को भगवती टोल, महिमा टोल, कृष्ण टोल र दीप टोल गरी ४ टोलका झण्डै ७ सय ५० परिवार अहिले पनि भुमीहिन छन् । पहिलेका चुनावमा पनि लालपुर्जा दिने आश्वासन दिएका दलका नेताहरु फेरी विगतका जस्तै गरी पुरानै शैलिमा झुटो आश्वासन दिएर हिड्न थालेका छन् ।

२०२१ सालदेखी बसोबास रहेको धनगढी उप–महानगरपालीकाका ती चारवटा बस्तीमा २०६२ सालमा मुक्त कमैयालाई बसाल्नका लागी मन्त्री परिषदले आधीकारिक निर्णय ग¥यो । तर लामो समयदेखी बसोबास गर्दै आएका सो क्षेत्रका बासीन्दाको उठीबास हुने भन्दै उक्त निर्णय कार्यान्वयन भएन । त्यसपछि भएका संविधान सभाको पहिलो निर्वाचन २०६४, संविधान सभाको दोश्रो निर्वाचन २०७० र उप–निर्वाचनमा विजयी भएका र पराजीत सबै नेताहरुले लालपुर्जा दिने भन्दै सो क्षेत्रका बासीन्दालाई भोट बैँकका रुपमा प्रयोग गरे तर समस्या अहिले पनि उस्तै रहेको वडा नम्वर ४ भगवती टोलकी स्थानीय बासीन्दा मिना पनेरुले बताउनुभयो ।

४ वटै टोलका  ७ सय ५० परिवारले सुकुम्वासी समस्या समाधान आयोगमा आजभन्दा ४ बर्ष अगाडी २०७० सालमा लालपुर्जाका लागी निवेदन पनि दिएका थिए तर उनिहरुका निवेदन माथी उनिहरुले नै भोट दिएका नेताहरुले टेर पुच्छर लगाईदिएनन् । अहिले पनि उनिहरुका निवेदन जिल्ला मालपोत कार्यालय कैलालीको गोदाममा थन्कीएका छन् । ३ पटकका चुनावमा आफैले गरेका आश्वासन पुरा नगरेका नेताहरु अहिले पनि त्यही समस्या समाधान गर्ने प्रमुख एजेन्डा बनाएर भोट मागीरहेका वडा नम्वर ४ कृष्ण टोलका स्थानीय जयराज जोशीले बताउनुभयो ।

चुनाव आउँदा झुटो आश्वासन दिएर भुमिहिनलाई जितेपछि लालपुर्जा दिने भन्दै जितेर सत्तामा पुगेका नेताहरुले फर्केर समेत नहेरेको उनीहरुको आरोप छ । वर्षौदेखि भुमिहिनका मागप्रति आश्वासन दलहरुले बारम्बार देखाएपनि आफ्ना मागहरु कहिल्यै सुनुवाई नहुँदा धनगढीको वडा नम्वर ४ का बासीन्दा सरकारी सेवा सुविधाबाट बञ्चीत त भएका छन् नै जग्गा धितो राखेर आफ्नै व्यापार व्यवसाय खोल्न पनि ऐलानी जग्गाका कारण समस्या भएको स्थानीय नवराज चटौतले बताउनुभयो ।

धनगढी उप–महानगरपालीका वडा नम्वर ४ मा झण्डै ३७ सय मतदाता रहेकोमा भुमीहिन ४ बस्तीका मत मात्रै गणना गर्दा झण्डै १५ सय पुग्छ । तर नेताहरुलाई भने ती १५ सय जनताको सम्झाना चुनावका बेला मात्रै आउने गरेको छ ।

समय फेरीयो, पुस्ता फेरीयो, नेताहरु पनि फेरीए तर उम्मेदवारहरुका आश्वासन भने बर्षाैपछि पनि उस्तै देखीएका छन् । दलका उम्मेदवारहरु स्थानीय तहको चुनावका लागी फेरी एक पटक भुमीहिनलाई लालपुर्जा दिने भन्दै आश्वासन बाँडीरहेका छन् । अब त भुमीहीनहरुलाई, हरेक चुनावमा आश्वासन दिएर भोट माग्नैकै लागि नेताहरुले उनीहरुको लालपुर्जाको काम नगरेको लाग्न थालेको छ । झण्डै ५३ बर्ष पुरानो बस्ती रहेको धनगढी उप–महानगरपालीका वडा नम्वर ४ मा पनि थुप्रै भुमीहिन परिवार छन् ।

अडियो:

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved