शिवराज खत्री, अछाम मंसिर ११ गते ।
अछाममा भरुवा बन्दुक सहित दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको ढकारी गाउँपालिका–७ नुवागाउँ स्थित भैसेखोलामा दुई नाल भरुवा बन्दुक सहित सोही वडा बस्ने प्रकाश बिक र खडक बहादुर बिक पक्राउ परेको प्रहरीले जानकारी दिएको छ । भरिएको अवस्थामा रहेका बन्दुक बोकेर शंकास्पद रुपमा हिडिरहेको अवस्थामा प्रहरीले फेला पारेपछि पक्राउ गरिएको अछामका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिनुभयो । आईतवार साझा पक्राउ परेका दुबैलाई आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाईएको न्यौपानेले बताउनुभयो । पक्राउ परेका २१ बर्षीय प्रकाश र २७ बर्षीय खडकबहादुर नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वको नेकपाका कार्यकर्ता हुनसक्ने आशंका प्रहरीले गरेको छ ।