नेपाली सिनेमा ‘छक्का पञ्जा–२’को रिलिज मिति तय भएको छ । जेठ १० गतेबाट फ्लोरमा जाने तयारीमा रहेको सिनेमा भदौ १६ मा रिलिज हुने भएको छ । सिनेमाको आधिकारिक रिलिज मिति तय भएको जानकारी निर्माता तथा अभिनेता दीपकराज गिरीले सामाजिक सञ्जाल फेसबुकमार्फत दिएका छन् ।
सिनेमा निर्माण गर्दा ६ लाई कहिल्यै पनि नछोड्ने दीपक र दीपाले यो सिनेमाको रिलिज मितिमा पनि ६ लाई पछ्याएका छन् । यो भन्दा पहिले सिनेमा ‘६ एकान ६’ पुष २६ , ‘वडा नम्बर ६’ असोज ६ र छक्का पञ्जा भदौ २४ मा रिलिज भएका थिए । छक्का पञ्जाको रिलिज मिती दुई र चार जोडेर ६ हुने भएकाले दीपक र दीपाले २४ राखेका थिए ।
सिनेमाको आधिकारिक रिलिज मिती तय भएको भन्दै दीपक राज गिरीले हामीसँग हाल सिनेमाको स्क्रिप्टमा काम भईरहेको जानकारी पनि दिएका छन् । ‘छक्का पञ्जा–२’ मा पनि ‘छक्का पञ्जा’कै कलाकारहरुको वर्चश्व हुनेछ । तर एक जना नायक र एक जना नायिका भने सिनेमामा थपिने छन् । सिनेमामा थपिने नायक नायिका नाम चलेका नै हुने दीपकले जानकारी दिए ।
केही समय अघि अचानक सिक्वेलको आधिकारिक घोषणा गरेका दीपकलाई हामीले छक्का पञ्जाको सिक्वेल नै किन बनाउन भयो अरु सिनेमा बनाए पनि त हुन्थ्यो नी ? भन्ने हाम्रो प्रश्न गर्यौँ । यसको जवाफमा उनले भने, ‘दर्शकले हामीबाट एउटा हँसाउने सिनेमाकै आशा गर्नु भएको हुन्छ । छक्का पञ्जा दर्शकको रोजाईको सिनेमा पनि पर्यो । त्यस कारण हामीले कमेडि सिनेमा नै बनाउने भएपछि छक्का पञ्जाको सिक्वेल ‘छक्का पञ्जा–२’ बनाउने निर्णय गरेका हौँ ।’