
महेन्द्रनगर, मंसिर २५ गते ।
कञ्चनपुरको १ नम्बर निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनकी उम्मेदवार बिना मगर निकटतम प्रतिद्वन्द्वीभन्दा दोब्बर मतान्तरले विजयी हुनुभएको छ । बिना मगरले ३८ हजार ४ सय ६७ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार दिवानसिंह विष्टले १९ हजार २ सय १९ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बिनाले दिवानभन्दा १९ हजार २ सय ४८ बढी मत पाउनुभएको छ । ८८ हजार ५९ मतदाता रहेको कञ्चनपुरको १ नम्बर निर्वाचन क्षेत्रमा ६३ हजार ३ सय १ मत खसेकोमा ६० हजार २ सय ६३ मत सदर भएको थियो । दोस्रो संविधानसभाको निर्वाचनमा समेत उमेदवार रहनु भएकी बिना मगर कांग्रेसका दिवानसिंह विष्टसँग पराजित हुनुभएको थियो । प्रतिनिधिसभा सदस्यमा निर्वा्चित भएसँगै बिना मगर कञ्चनपुरबाट केन्द्रीय संसदमा प्रत्यक्ष निर्वा्चित भएर पुग्ने पहिलो महिला बन्नु भएको छ । साथै, यस पटकको प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुदूरपश्चिम अर्थात् ७ नम्बर प्रदेशबाट निर्वा्चित हुने एक मात्र महिला बन्ने देखिएको छ ।