
एफ.एम सम्ंवाददाताहरु, मंसिर १० गते ।
पहिलो चरण अन्तर्गत प्रदेश नम्बर ७ का चार पहाडी जिल्लामा भएको निर्वाचनमा ५५ प्रतिसत देखि ७६ प्रतिसत मतदान भएको छ । चार वटै जिल्लाहरुमा आईतवार विहान ७ वजेदेखि साँझ ५ वजेसम्म भएको मतदानमा मतदाताहरुको उत्साहजनक रुपमा मत खसेको निर्वाचन कार्यालयहरुले जनाएका छन ।
बैतडीमा ५७.७ प्रतिसत मत खसेको मुख्य निर्वाचन अधिकृत विष्णु प्रसाद गौतमले जानकारी दिनुभयो । बैतडीका कुल एक लाख ३२ हजार तीन सय १९ जना मतदाता मध्ये ७६ हजार ३४३ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । बैतडीमा सिगास गाउँपालिकाका केही वडा बाहेकका मतपेटिकाहरु आईतवार राती १२ बजेभीत्रै जिल्ला सदरमुकाम पुग्ने प्रमुख जिल्ला अधिकारी शिद्धराज जोशीले जानकारी दिनुभयो ।
बैतडीमा दसरथ चन्द नगरपालिकाको भवनमा मतगणना हुने गरी मतपेटीका भण्डारण गरिएका छन । आसपासका मतदान स्थलका मतपेटिका बैतडी पुगाई सकिएका छन ।बाजुरा जिल्लामा स्थानियको तहको भन्दा कम मत खसेको छ । स्थानिय तहमा ८१ प्रतिशत खसेको बाजुरामा प्रदेश सभा र प्रतिनिधि सभाको चुनावमा भने ७६.२ प्रतिशत मस खसेको मुख्य निर्वाचन कार्यलय बाजुराले जनाएको छ । कुल ६९ हजार ८ सय ३४ मतदाता मध्ये ५३ हजार २ सय १४ मत खसेको छ ।
चिसोका कारण धेरैजसो मतदाता मध्यान्हतिर मात्रै मतदान केन्द्रतिर ओइरिएका थिए । नजिक केन्द्रका मतपेटिकाहरु आजैदेखि ल्याउन सुरु गरिने भएपनि विकट क्षेत्रका मतपेटिकाहरु सोमवार सम्म हेलिकोप्टरबाट ल्याउने तयारी भई रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । दुर्गममा रहेको हिमाली गाँउ पालिका वडा नं १, २ र ३ का मतपेटि हेल्किेप्टर मार्फत ल्याउने तयारी भएको मुख्य निर्वाचन कार्यलय बाजुराले जनाएको छ ।
यस्तै बझाङमा पनि ५५ देखि ६० प्रतिसत मतदान भएको निर्वाचन अधिकारीहरुले जनाएका छन । बझाङमा पनि धेरै मतदान स्थलमा फोन नलागेकाले मतदानको यकीन तथ्यांक आउन सकेको छैन । बझाङमा निर्वाचन सकिएपछि मतपेटिका जिल्ला सदरमुकाम ल्याउने क्रम सुरु भएको छ । बझाङको विकट काँडा गाविसका बाहेकका मतपेटीका आज राती सम्म संकलन गरिने सुरक्षा समितिले जनाएको छ ।
दार्चुलामा निर्वाचनको प्रारम्भीक तथ्यांक अनुसार जिल्लाभरी ६९ प्रतिशत मत खसेको छ । जिल्लाको कल मतदाता ७८ हजार ५ सय १३ जना रहेकोमा ५४ हजार ४ सय १४ जनाले मतदानमा सहभागि जनाएको प्रहरी नायव उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिनुभयो । मतदान केन्द्रमा युवादेखि बृद्धसम्म उल्लासपूर्ण सहभागि थिए । सदरमुकाम खलंगामा तीन वटा सुतली होक्स बम भेटियो भने मालिकार्जुन मावि मड केन्द्रमा सामान्य झडपबाहेक जिल्लाभरीको मतदान शान्तिपूर्वक सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय जनाएको छ ।
स्थानीय तहमा जिल्लामा ७३ प्रतिशत मत खसेकोमा प्रदेश तथा प्रतिनिधी सभा निर्वाचनमा तीन प्रतिशत मत घटेको छ । यस्तै प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको मतदान सकिएसँगै दार्चुलाका विभिन्न मतदान केन्द्रबाट मत पेटिका ओसार्ने तयारी भएको छ । गाडी चल्ने ठाउँका मतपेटिकाहरु आइतबार अवेर रातीसम्म खलंगामा ल्याउने तयारी भएको छ । ६० देखि ७० प्रतिशत मत पेटिका आजै खलंगा पुर्याइने छ भने टाढाको अपि हिमाल गाउँपालिका र व्यास गाउँपालिकाका केहि मतदान केन्द्रको मत पेटिका सोमबार हेलिकप्टरमार्फत ढुवानी गर्ने तयारी भएको प्रमुख जिल्ला अधिकारीले जानकारी दिनुभयो ।