
शिवराज खत्री, अछाम ०९ आषाढ ।
दोस्रो चरणमा हुने स्थानीय तहको निर्वाचनमा खटिएका कर्मचारी अछाममा निर्वाचन स्थलमतर्फ जाने क्रम सुरु भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट नियुक्ती र मतपत्र तथा जिल्ला निर्वाचन कार्यालयबाट मत पेटीका लगायत आवश्यक अन्य सामाग्री बुझेर कर्मचारीहरु मतदान स्थलतर्फ जानेक्रम सुरु भएको हो ।
भौगोलिक दुरीका आधारमा विहीबार देखि नै कर्मचारी मतदान स्थलतर्फ खटिने क्रम सुरु भएको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ । मतदान स्थलको दुरीकै आधारमा कर्मचारीलाई सामाग्री बुझ्न बोलाउने गरिएको जिल्ला निर्वाचन अधिकारी चुणाराज सापकोटाले जानकारी दिनुभयो ।
उहाँका अनुसार सबैभन्दा टाढाको स्थलमा खटिने कर्मचारीलाई बिहीबार नै आवश्यक सामाग्री बुझाएको र क्रमस नजिक स्थलमा खटिने कर्मचारीलाई शुक्रबार र सदरमुकाम आसपासका स्थलमा खटिनेलाई शनिबार पनि सामाग्री बुझाईने छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले १० गते बेलुकी सम्म सबै कर्मचारी मतदान स्थलमा पुगिसक्नु पर्ने र ११ देखि १३ गते तीन दिन सम्म फोटोसहितको मतदाता परिचय पत्र वितरण गरिसक्नु पर्ने जिम्मेवारी कर्मचारीलाई दिएको छ । मतपेटिका र पतपत्र लगेर जाने मतदान अधिकृतसँगै आवश्यक सुरक्षाकर्मी पनि खटाईएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक निरञ्जनदत्त भट्टले जानकारी दिनुभयो ।
चार वटा नगरपालिका र छ गाउँपालिकामा एक सय २९ मतदान स्थलका एक सय ८५ मतदान केन्द्रमा प्रति मतदान केन्द्रमा सुरक्षाकर्मी वाहेक एक हजार एक सय १० कर्मचारी निर्वाचनका लागि खटिएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।