सिताराम ओझा, धनगढी ०७ आषाढ ।
ट्राफिक प्रहरीले कैलालीको अत्तरिया र धनगढी बजार क्षेत्रमा हर्न बजाउन नपाइने व्यवस्था लागु गरेको छ । बढ्दो ध्वनि प्रदुषणलाई नियन्त्रण गर्नका लागि अत्तरिया र धनगढीका केहि क्षेत्रमा हर्न निषेध गरिएको ट्राफिक प्रहरीले जनाएको छ । अत्तरियामा जेठ २५ गतेदेखी हर्न निषेधीत क्षेत्र लागु भईसकेपनि धनगढी बजारमा असार १ गतेदेखी हर्न बजाउन नपाईने व्यवस्था हुन लागेको हो । तर धनगढीमा हर्न वजाउन नपाईने नियम लागु गरेको एक सातासम्म हर्न निषेध गरेको कुनै आभास भएको छैन भने ट्राफिक प्रहरीले पनि प्रभावकारी रुपमा कार्यान्वयन गर्नका लागि कुनै काम गरेको छैन ।
धनगढीमा ट्राफिक चौराहदेखी पुर्ब जिल्ला प्रहरी कार्यालय सम्मको बजार क्षेत्र, दक्षिणमा बिद्युत प्राधिकरण र उत्तरमा आयल निगम रहेको क्षेत्रसम्म हर्न निशेधीत गरिएको भएपनि यसको कार्यान्यन फितलो देखिएको छ । पहिलो चरणमा हर्न निषेधका लागि प्रचारात्मक अभियान चलाएको वताएपनि यो अभियान प्रभावहीन देखिएको छ ।
सानादेखि ठुला निजिदेखि सार्वजनिक कुनै पनि सवारी साधनले हर्न वजाउन रोकेका छैनन । मनपरी रुपमा चर्को हर्न वजाउने क्रममा हर्न निषेध लागु भएपनि कुनै फरक आएको छैन । हर्न निशेधीत क्षेत्रमा हर्न बजाएमा ट्राफिक ईशारा उल्लंघन गरेको कसुरमा ५ सयदेखी १५ सयसम्म जरीवाना गर्न सकिने व्यवस्था रहेको छ । तर धनढगढीमा एक जनालाई कारवाहीको कुरा त छाडौ सम्झाउने वुझाउने काम पनि सुरु भएको छैन ।
ध्वनि प्रदुषणबाट मानिसको दिमाग तथा मुटुमा गम्भीर असर पर्ने भएकोले ध्वनि प्रदुषण न्यूनिकरण गर्नको लागि यस्तो व्यवस्था गरिएको ट्राफिक प्रहरीले वताएको छ । तर आवश्यक पुर्वाधार र तयारी विना गरिएको हर्न निषेध फितलो भएको हो ।
ट्राफिक प्रहरीले भने असार १४ को स्थानीय तहको निर्वाचनका कारण प्रभावकारी रुपमा कार्यान्वयन गर्न नसकेको स्वीकारेको छ । स्थानीय तहको निर्वाचन पछि प्रचार प्रसार र कारवाहीको प्रक्रियालाई कडाईका साथ लागु गर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक दिपक पातलीले बताउनुभयो ।