दीपक जोशी, धनगढी १३ कात्तिक ।
शान्ति सुरक्षा कायम गर्ने भन्दै तामझामका साथ धनगढीका एक दर्जन स्थानमा राखिएका सिसि क्यामेराहरु बिग्रीएर थन्कीएका छन । कैलाली उद्योग बाणीज्य संघ र जिल्ला प्रहरी कार्यालय कैलालीको समन्वयमा धनगढी चाराहादेखी जिल्ला प्रहरी कार्यालय कैलालीको गेटसम्म राखिएका १२ ओटा सिसि क्यामेरा मध्ये १० ओटा सिसि क्यामेराहरु बन्द भएका छन । तत्कालीन कैलालीका प्रहरी उपरिक्षक राजेन्द्र बिष्टका पालामा धनगढीका व्यापारी तथा बैङकहरुबाट झण्डै ४० लाख रकम उठाएर सिसि क्यामेरा जडान गरिएको थियो ।
बजारमा हुने आपराधिक गतिविधिलाई नियाल्न भन्दै बजारमा सिसी क्यामेरा जडान गरिएको थियो । तर सिसी क्यामेरा ब्रिगेको लामो समय भइसक्दा पनि बनाउनतर्फ अहिलेसम्म कसैको ध्यान पुग्न सकेको छैन । सार्वजनिक स्थलमा राखिएका सिसी क्यामेरा विग्रिएपछि मर्मत कसले गर्ने भन्नेमा अन्यौल हुँदा त्यसै थन्किएका छन ।
कैलाली उद्योग बाणीज्य संघका कोषाध्यक्ष पुष्प कुँवरले बजारका बिभिन्न स्थानमा राखिएका सिसी क्यामेरा मर्मत गर्ने जिम्मा जिल्ला प्रहरी कार्यालयको हुने गरि सम्झौता भएको बताउनुभयो । तर जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरिक्षक जनकराज पाण्डेयले भने सिसि क्यामेरा मर्मतका लागि सम्झौता भएको कुरा आफुलाई जानकारी नभएको बताउनुभयो ।
बजार क्षेत्रका बिग्रीएका १० ओटा सिसि क्यामेरा मर्मतका लागि आफुले पटक पटक प्राबिधिक बोलाएको र प्राबिधिकले समेत समस्या पत्ता लगाउन नसकेको प्रहरी उपरिक्षक जनकराज पाण्डेले बताउनुभयो । सिसि टिभि क्यामेरा मर्मत गरेर संचालनमा नआएपछि लाखौ रकम चन्दा दिएका बैंक तथा व्यपारीहरु चिन्तीत भएका छन । उनिहरुले यथासक्य चाडो सिसि क्यामेराहरु मर्मत गरेर संचालनमा ल्याउन माग गरेका छन ।