

शिबराज भट्ट, धनगढी मंसिर १२ गते ।
पहिलो चरणको निर्वाचन सम्पन्न भए संगै, दोस्रो चरणको चुनाव हुने जिल्लाहरुमा चुनाव प्रचार प्रसार उत्सर्गमा पुगेको छ । टीकापुुर घटनापछि एकाएक चर्चामा आएको कैलालीको टीकापुर क्षेत्र अथवा कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा पनि चुनाव प्रचार प्रसार उत्सर्गमा पुगेको छ । टीकापुर क्षेत्रबाट प्रतिनिधि सभाका लागि बाम गठबन्धनले एमालेबाट समानुपातिक सांसद तथा केन्द्रिय सदस्य मदनकुमारी शाह (गरिमा) लाई चुनावी मैदानमा उतारेको छ भने लोकतान्त्रीक गठबन्धनबाट काँग्रेसकी सचेतक तथा केन्द्रिय सदस्य ईश्वरी न्यौपाने चुनावी मैदानमा हुनुहुन्छ ।

‘दुई जना हेवीवेट महिलाहरु बीचको प्रतिष्र्धा रोचक हुन्छ‘ टीकापुर उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष आनन्द हमालले भने । ‘टीकापुरमा चुनावका बीच सद्भावको खोजी भईरहेको छ ।’ थारु र पहाडि समुदायका उमेदवार सँगै गएर सँगै भोट मागिरहेका छन भने अब दुबै समुदाय मिलेर बस्नुपर्छ पनि भनिरहेका छन ।
दलहरुले कुडिएका टीकापुरका मनहरु यस चुनावबाट जोडने प्रयास गरेका छन । बाम गठबन्धनले कैलालीको प्रदेश सभा १ र २ बाट थारु उमेदवार उठाएको छ । प्रदेश सभा १ बाट टीकापुर घटनाका योजनाकारको आरोप लागेपछि फरार रहेका रेशम चौधरीका बुवा लालबीर चौधरीलाई बाम गठबन्धनले उमेदवार बनाएको छ भने प्रदेश क्षेत्र नम्बर २ बाट जनमुक्ति सेनाका तत्कालिन सातौं डिभिजनका सहकमाण्डर नेपबहादुर चौधरी (सिंहराज) लाई उमेदवार बनाएको छ ।
नेपबहादुर चौधरीकी पत्नी रुपा चौधरीले २०६४ सालको संविधान सभा निर्वाचनमा झण्डै तेब्बर मतअन्तरले जित्नु भएको हो । बाम गठबन्धनका लागि अहिले रुपा आफै मत माग्न हिडिरहेकी छिन । बाम गठबन्धनले टीकपुरमा भएको घटनापछि, दुबै समुदायका मतहरु तान्न र सदभावका लागि पनि प्रतिनिधि सभामा पहाडि समुदाय र प्रदेश सभा दुबै सीटमा थारु उमेदवार उठाएको जनाएको छ ।![]()
‘टीकापुरमा अहिले पनि सद्भाव छ, तर अझै कुढिएका मनहरु जोड्नका लागि यस निर्वाचनले भुमीका खेल्नेछ’ क्षेत्र नम्बर १ मा घरदैलो गरिरहनु भएकी मदनकुमारी शाह (गरिमा) ले भनिन । ‘कतै कतै अझै पनि मनमा थौरै केही छ, भन्ने भान हुन्छ, हामी चुनाव प्रचार प्रसारका क्रममा त्यसलाई पनि मेटाउने प्रयास गरिरहेका छौं’ उनले भनिन ।
अर्को तर्फ रेशम चौधरी टीकापुर घटनाका मुख्य आरोपी हुन । उनी टीकापुर घटना लगत्तै फरार छन । उनले पनि कैलाली क्षेत्र नम्बर १ बाट राजपाको तर्फबाट प्रतितिधि सभामा उमेदवारी दिएका छन । बाम गठबन्धनले रेशम चौधरीका बुवा लालबीर चौधरीलाई प्रदेशमा उठाएर पनि थारु मत तान्ने रणनीति बनाएको छ । लालबीर चौधरी यसैपाली एमाले प्रवेश गरेका हुन । ‘म टीकापुर क्षेत्रको समाजसेवी हुँ, त्यसैले पनि टीकापुर बासी मलाई र बाम गठबन्धनलाइ भोट दिन्छन’ लालविर चौधरीले भने ।
हुन त बुवाले बाम गठबन्धनबाट चुनाव लडेको कुरा रेशम चौधरीलाई सह्य भएको छैन । ‘रामायणमा राजा दसरथले जसरी रामलाई बनबास जान बाध्य पारे, मेरो बुवाको अवस्था पनि त्यस्तै लाग्यो’ रेशम चौधरीले भने । ‘हामी पहिचाँनको लडाई लडिरहेका बेला बुलाले, हाम्रो पहिचान स्वीकार नगर्ने पार्टीबाट चुनाव लडेकाले दुख लागेको छ’ उनले भने ।
क्षेत्र नम्बर १ को परिणामको रोमाञ्चक कुरा फरार अभियुक्त रेशम चौधरीको उमेदवारी देखिएको छ । क्षेत्र नम्बर १ मा फोरम लोकतान्त्रीक र काँग्रेस मिलेर चुनाव लडिरहेका छन । काँग्रेसले २०७० सालको निर्वाचनमा आफ्नै उमेदवार डाक्टर रण बहादुर रावललाई हराएका तत्कालिन फोरम लोकतान्त्रीकका नेता जनक चौधरीलाई प्रदेश सभाको उमेदवार बनाएको छ भने त्यही क्षेत्रको अर्को प्रदेश सभा सदस्यका लागि तीनै डाक्टर रणबहादुर रावल चुनाव लडिरहेका छन । ‘२०७० सालका प्रतिष्पर्धि अहिले एकै दलबाट चुनाव लडेका कुरा पनि रोचक छ’ टीकापुरका समाजसेवी यज्ञमुर्ती अर्याल भन्छन ।
२०७० सालको चुनावमा जनक चौधरीको जीत, अहिलेको स्थानीय चिर्वाचनमा पनि झण्डै साढे चार हजार मतले लोकतान्त्रीक गठबन्धन अगाडि हुनु र काँग्रेसभीत्रको गुटको अन्त्य हुनु आफ्नो जीतका मुख्य आधार रहेको लोकतान्त्रीक गठबन्धनकी उमेदवार ईश्वरी न्यौपाने बताछिन । तर उनलाई रेशम चौधरीको मतको संख्याले चिन्तित तुल्याएको छ ।
क्षेत्र नम्बर १ मा थारु आन्दोलन हाकेका नेताहरु काँग्रेसमा विलय भएको र आफ्नो आन्दोलन छोडेको भावना थारुहरुमा भएकाले थारुहरुको मत रेशमतिर जाने हो की भन्ने लोकतान्त्रिक गठबन्धनमा चिन्ता छ । ‘मलाई खासै फरक पर्दैन, किनकी थारु आन्दोलन हाकेका नेता जनक चौधरी प्रदेश सभामा लडिरहनु भएको छ’ काँग्रेस नेतृ ईश्वरी न्यौपानेले भनिन । प्रदेश सभाका लागि दुबै जना थारु हुनु, रेशम चौधरीले लोकतान्त्रिक गठबन्धनका भोट काटनु र लामो समय देखि आफु टीकापुरका जनतामाझ भिजेकाले आफ्नो गठबन्धनका जीत हुने मदनकुमारी शाहको दाबी छ । उनले रेशम चौधरीको मतले आफुलाई फाईदा गर्ने बताईन ।
