महेन्द्रनगर, २१ असोज ।
जिल्ला शिक्षा कार्यालय कञ्चनपुरमा लागेको ताला नखुल्दा चारदिन देखी कार्यालयको कामकाज ठप्प बनेको छ । दशैंको बिदा सकिए लगत्तै कार्यालय खुलेकै दिन शिक्षा कार्यालयमा तालाबन्दी भएको हो । चारदिन देखी कार्यालयका तालाबन्दी हुँदा कामकाज ठप्प भएको शिक्षा कार्यालयले जनाएको छ । जिल्ला शिक्षा अधिकारी अमर प्रसाद भट्टले सरुवा भइसक्दा समेत अदालतको स्टे अर्डर ल्याएर शिक्षा कार्यालयमै आएपछि विरोध स्वरुप नेपाली काँग्रेस निटक नेपाल शिक्षक संघले शिक्षा अधिकारीको कार्यकक्षमा तालाबन्दी गरेको हो । संयुक्त विद्यार्थी संगठनहरुले भने पूर्व सहमति कार्यान्वयन नभएको विरोधमा शिक्षा कार्यालयको प्रशासनिक कक्षमा तालाबन्दी गरेको हो । शिक्षा अधिकारीको कार्यकक्ष र प्रशासनिक कक्षमा तालाबन्दी भएपछि चारदिन देखी कार्यालयको काम सुचारु हुन सकेको छैन् ।