
सीताराम ओझा, धनगढी माघ १० गते ।
चैत्र १७ गते देखि धनगढीमा आयोजना हुने दोस्रो सिजनको धनगढी प्रिमियर लिगको टोली तथा टिमका रणनीतिक खेलाडीहरुको घोषणा भएको छ । बुधवार काठमाण्डौमा आयोजित पत्रकार सम्मेलन मार्फत आयोजकले सहभागी टोली, रणनीतिक खेलाडीहरु र मालिकको नाम सार्वजनिक गरेको हो । दोस्रो सिजनको धनगढी प्रिमियर लिगमा ६ टोलीको सहभागिता हुने भएको छ । पहिलो सिजन खेलेको कन्चंपुर आईकनिक बाहेक अन्य टोली भने दोस्रो सिजनमा यथावात रहेका छन ।
कन्चनपुरलाई भने महेन्द्रनगर युनाईटेडले प्रतिस्थापन गरेको छ । यस्तै पछिल्लो सिजन विराटनगर किंग्सको कप्तानी गरेका शरद भेसावकर नखेल्ने भएपछि उनको सट्टा नयाँ रणनीतिक खेलाडी समेत चयन भएका छन । दोस्रो सिजनमा बिराटनगर किंग्सको रणनीतिक खेलाडी पारस खड्काले रहने भएका छन । पारस खड्काको कप्तानीमा पहिलो सिजनको उपाधि हात पारेको टिम चौराह धनगढीको रणनीतिक खेलाडी भने यस पटक सोमपाल कामी हुनेछन ।
राष्ट्रीय टोलीका उप कप्तान ज्ञानेन्द्र मल्लको कप्तानीमा पहिलो सिजन खेलेको सिवाईसि अत्तरियाको रणनीतिक खेलाडीको रुपमा भने यसपटक युवा खेलाडी दीपेन्द्र सिंह ऐरी रहेका छन । मल्ल भने यसपालीको सिजनका लागि काठमाण्डौ गोल्डेन्स का रणनितिक खेलाडी वनेका छन । यस्तै पहिलो सिजनमा कन्चनपुर आईकनिक्सका कप्तान रहेका विनोद भण्डारी भने यस पटक नवप्रवेशी टोली महेन्द्रनगर युनाईटेडको रणनीतिक खेलाडी चयन भएका छन् ।
रुपन्देही च्यालेन्जर्सको कप्तानी गरेका शक्ति गौचन भने यस सिजनमा पनि रुपन्देहीमा नै रहेका छन । डीपीएलको अक्सन फागुन ९ गते हुनेछ । प्रत्येक टिमले अक्सनवाट १२ खेलाडी किन्न पाउने छ । जसमा एक टिमले खेलाडी किन्न ११ लाख खर्च गर्न पाउनेछन् । यस्तै प्रत्येक क्लबले २ जना विदेशी खेलाडी र धनगढीमा हुने ट्यालेन्ट हन्टबाट आएका सुदूरपश्चिमाञ्चलका एक खेलाडी राख्नु पर्ने आयोजकले मापदण्ड तोकेको छ । दोस्रो संस्करणको डीपीएलको विजेताले २५ लाख नगद पाउनेछ ।
त्यस्तै, उपविजेताले १० लाख, तेस्रोले ३ लाख र चौथोले २ लाख नगद प्राप्त गर्ने छन् । गत वर्षको विजेता टिम चौराह धनगढीले १५ लाख र उपविजेता विराटनगर किंग्सले ७ लाख पाएका थिए । प्रत्येक खेलका म्यान अफ द म्याच हुने खेलाडीले १० हजार र म्यान अफ द सिरिज हुनेले टिभीएस अपाचे १८० सीसीको मोटरसाइकल पाउनेछन् । त्यस्तै, उत्कृष्ट ब्याट्सम्यान र बलरले पनि पुरस्कार पाउने छन् ।
टि–२० को आधारमा हुने प्रतियोगिताको लिग चरणमा पत्येक टिमले अन्य टिमसँग १–१ खेल खेल्ने छन् । शीर्ष चारमा पर्ने टिम प्लेअफमा पुग्ने छन् । त्यसमा पहिलो र दोस्रो हुने टिमबीचको खेलबाट विजेता टिम फाइनलमा पुग्ने छ । पराजित हुने टिम तेस्रो र चौथो हुने टिमसँगको विजेतासँग फाइनल प्रवेशका लागि खेल्नेछन् । प्रतियोगिता वैशाख १ गतेसम्म सञ्चालन हुनेछ ।