टीकापुर, ०३ आषाढ ।
टीकापुर घटनाका मुख्य योजनाकार भनिएका रेशम चौधरीलाई सरकारले एक करोड ७४ लाखको क्षतीपुर्ती दिएको छ । २०७२ भदौं ८ गते भएको आगजनी पिडितलाई सरकारले सहयोगमा सबैभन्दा बढी रकम पाउने रेशम चौधरी हुन ।
प्रहरी वरिष्ठ उपरिक्षक लक्ष्मण न्यौपाने, दुईजना प्रहरी निरिक्षक सहित ८ सुरक्षाकर्मी र एकजना दुधे बालकको हत्या भएको भोलीपल्ट उत्तेजीत भीडले रेशम चौधरीको फुलवारी एफएम, फुलबारी कटेज र एउटा मोटरसाईकलमा अगजनी गरेको थियो ।
रेशम चौधरीका बुवा लालविर चौधरीले क्षतीपुर्ती वाफतको एक करोड ७४ लाखको चेक बुझेको कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिनुभयो । यस्तै नीरु ट्रेडर्सका सञ्चालक जीवनारायण चौधरीले एक करोड ५० लाख र प्रदीप चौधरीले आफ्नो हार्डवेयर पसलमा भएको क्षतपुर्ती वाफत एक करोड ३९ लाख रकम पाएका छन ।
यसअघि प्रचण्ड सरकारको बहिर्गमनको अन्तिम समयमा टीकापुरका आगजनी पिडितलाई झण्डै ११ करोडको क्षतीपुर्ती रकम दिने मन्त्रीपरिषदले निर्णय गरेको थियो । टीकापुर घटनाका ८८ जना पिडितले ८ हजार देखि एक करोड ७४ लाख सम्मको क्षतीपुर्ती पाएका हुन ।
राहत वितरणका लागि प्रमुख जिल्ला अधिकारी सहितको टोली आज टीकापुर पुगेको थियो । राहत तथा क्षतिपुति रकम दिएर राज्यले आफुलाई न्याय गरेको आगजनी पिडित प्रदिप चौधरीले बताउनुभयो ।