दुर्गा देवकोटा, २७ टीकापुर ।
कैलालीको टीकापुर नगरपालिका वडा नं. ६ नारायणपुर स्वास्थ्य चौकीमा प्रजनन स्वास्थ्य शिविर शुरु भएको छ । शिविरको टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावलले उद्घाटन गर्नुभएको हो । विहीवार देखि शुरु भएको शिविर शुक्रवार सम्म चल्नेछ । शिविरमा प्रजनन स्वास्थ्य सम्बन्धी सेवा, सामान्य विरामीको जांच, गर्भवती जांच, परिवार नियोजन सेवा, सुत्केरी स्वास्थ्य जांच, बाल स्वास्थ्य जांच, पाठेघर सम्बन्धी जांच गरिएको छ ।
शिविरमा प्रयोगशाला परीक्षण सेवाका साथै मनोविमर्श परामर्श सेवा र युवा तथा किशोरी किशोरीलाई स्वास्थ्य शिक्षा दिनुका साथै उपचार सेवा पनि दिइएको छ । स्वास्थ्य शिविर यसअघि भजनी स्वास्थ्यचौकी र थापापुर स्वास्थ्य चौकीमा भएको थियो । बाढी प्रभावित क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवा दिने उद्देश्यले शिविर आयोजना गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीका जनस्वास्थ्य प्रमुख टंकप्रसाद चापागाईले बताउनुभयो ।