नरेन्द्र कार्की, दार्चुला ३२ साउन ।
निर्वाचन सम्पन्न भएपछि स्थानीय तहमा खटाइएका स्वास्थ्यकर्मी अझै पुगेका छैनन् । गत साउन १ गतेबाट कार्यालयमा हाजिर हुने गरी खटाइएका स्वास्थ्यकर्मी गाउँपालिकामा नपुगेका हुन् । दार्चुलाको अपि हिमाल गाउँपालिकामा संयोजक बनाएर पठाइएको गोकुलेश्वर अस्पतालका जनस्वास्थ्य निरीक्षक भानदेव जोशी स्थानीय तहमा जानु भएको छैन । यस्तै सहायक कर्मचारीको रुपमा घुसा स्वास्थ्य चौकीबाट खटाइएका हेल्थ असिस्टेन्ट उमेश यावद एक दिन मात्र गाउँपालिकामा हाजिर भएर फर्किएका छन् ।
अपि हिमाल गाउँपालिकाका निमित्त कार्यकारी अधिकृत लक्ष्मणसिह धामीका अुनसार यादवले एक दिन हाजिर गरेर गएपछि सम्पर्कमा नआएको बताउनुभयो । जिल्लाभरी भाइरल प्रकोप बढि रहेको बेला अपि हिमाल गाउँपालिकाको स्वास्थ्य चौकी घुसामा स्वास्थ्यकर्मी नै छैनन् । स्वास्थ्य चौकी घुसामा ६ जनाको दरबन्दी भएपनि मंगलबार एक जना स्वास्थ्यकर्मी समेत कार्यालयमा नभेटिएको अपि हिमाल गाउँपालिका स्थानीय रुकमणी जागरीले बताउनुभयो ।