This is a test

कैलालीका बाढी प्रभावित क्षेत्रमा झाडापखाला, टाईफाइड र ज्वरोको प्रकोप फैलियो

0

सिताराम ओझा, धनगढी १ भदौ ।

कैलालीका बाढी प्रभावित क्षेत्रहरुमा झाडापखाला, टाईफाइड र ज्वरो लगायतका रोगहरुको प्रकोप फैलिएको छ । वाढीपछि विस्थापित भएर वसेकाहरुमा विभिन्न किसिमका रोगहरुको संक्रमण फैलिएको हो । केही स्थानमा स्वास्थ्य शिविर सञ्चालन गर्दै सामान्य चेकजाँच गरिए पनि धेरै स्थानहरुमा स्वास्थ्य शिवीर पुग्न नसकेका कारण महामारीको संकेत देखिएको छ ।

समयमै सर्तकता अपनाउन नसकेकामा वाढी विस्थापित क्षेत्रमा रोगहरुको महामारी फैलन सक्ने चेतावनी दिदै स्वास्थ्यकर्मीहरुले सर्तकता अपनाउनका लागि सुझाव दिएका छन । झाडापखाला, पेट दुख्ने, ज्वरो आउनेदेखि टाइफाइड लगायतका रोगहरुवाट विस्थापितहरु विरामी हुन थालेका छन । विभिन्न किसिमका संक्रमणहरु देखिन थालेपछि महामारी फैलिने उच्च जोखिम देखिएको छ ।

खासगरी भजनी र भजनी आसपासका क्षेत्रहरुमा वढी रोगहरुको संक्रमण देखिएको साविकको थापापुर गाविसको सोनाहाफाटाकी विस्थापित विरामी सेतुदेवी पाण्डेयले बताउनुभयो । भजनी नगरपालिकाको वडा नम्बर ८, ३ र ५ का वस्तीमा गत शुक्रबार राती बाढी पसेपछि विस्थापित भएकाहरु हुलाकी राजमार्गको छेउमा पालमुनि रात कटाउन वाध्य भएको अवस्थामा विभिन्न किसिमका रोगहरु देखिन थालेपछि विस्थापितहरु थप पिडित भएका छन ।

टीकापुर नारायणपुर धनसिंहपुर क्षेत्रमा पनि झाडापखाला टाईफाईड ज्वरोका विरामीहरु देखा पर्न थालेका छन । उचित खानपानको अभाव, दुषित पानी र खुला शौचालयका कारण रोगको प्रकोप देखिन थालेको सामुदायिक प्रकोप व्यवस्थापन समितीको राष्ट्रिय सञ्जालका केन्द्रिय सदस्य जय ढुंगानाले बताउनुभयो । विस्थापित वस्तीमा स्वास्थ्य शिविरहरुमा सञ्चालन हुन थालेको छ ।

तर धेरै ठाउँहरुमा अहिले पनि स्वस्थ्यकर्मी र औषधी पुग्न सकेको छैन । तर पनि स्वास्थ्य उपचार दिन थालेपछि वाढी प्रभावितहरुमा टाउको दुख्ने, पेट दुख्ने लगायत टाइफाइड र ज्वरोको प्रकोप देखिएको उहाले बताउनुभयो । दुषित पानी र खुला शौचका कारण रोगले महामारीको रुप लिन सक्ने भन्दै समयमै ध्यान दिन चिकित्सकहरुले सुझाव दिएका छन ।

उनीहरुले राहतका सामाग्रीहरुसँगै शुद्ध खानेपानी र औषधीको व्यवस्था मिलाउन पनि सहयोगी हातहरुलाई स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन । बाढीका कारण कैलालीमा २ जनाको मृत्यु भएको छ भने १५ सय परिवार विस्थापित भएका छन् । उनीहरुमा देखा परेका विभिन्न रोगहरुको संक्रमण रोक्नका लागि स्वास्थ्य शिविर र औषधीहरु वितरणको काम गरिरहेको जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख खगेन्द्र शाहीले बताउनुभयो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved