
दीपक जोशी, धनगढी १ भदौ ।
जिल्ला कारागार कैलालीका कैदीबन्दीले कुहिएको चामलको भात खान बाध्य भएको बताएका छन । नेपाल खाद्य संस्थान धनगढीबाट खरिद गरेर कैदीबन्दीका लागि लगिएको चामल कुहिएको पाइएको हो ।
संस्थानबाट कारागार लगिएको चामल कुहिएर कालो भई खानै नमिल्ने भएपनि आफुहरुलाई त्यही चामल बितरण भईरहेको कैदीबन्दीले बताएका छन । उनीहरुले कुहिएको चामलको गुनासो पटक पटक गर्दा समेत कुनुै सुनुवाई नभएको एक कैदीवन्दीले बताउनुभयो ।
नेपाल खाद्य संस्थान धनगढीबाट ल्याएर अहिले खाँदै गरिएको चामल बोरामै चिल्सा परेको, भिजेर डल्लो परेको र सडेर कालो भइसकेको कैदीबन्दीले बताएका छन । उनिहरुले संस्थानले सडेको चामल बिक्री गरिरहदा समेत सम्बन्धीत निकायले कुनै चासो नलिएर आफुहरुको स्वास्थ्य माथी खेलवाड गरिरहेको आरोप लगाएका छन ।
कुहिएको चामल बितरण भईरहेको कैदीबन्दीको गुनासोपछि दिनेश एफएमको टिम बुधवार बिहान कारागार पुगेको थियो । त्यहाँ पुग्दा कैदीबन्दीहरुले आफुहरुले कुहिएको चामलको भात खान बाध्य भएको बताए । कुहिएको चामलका बारेमा प्रतिक्रिया माग्न जेलर पुष्कल खड्कालाई सम्पर्क गर्न खोज्दा बुधवार दिनभर उहाले प्रयोग गर्दै आउनुभएको मोवाईलको फोन स्वीच अफ गरिएको थियो ।
यता खाद्य संस्थानले भने कारागारका लागि ताजा चामल नै पठाउने गरेको दावी गरेको छ । कहिले काँही बोरामा राखिएको चामलमा खरावी आउन सक्ने भएपनि कैदीबन्दीका लागि जहिले पनि राम्रो चामल पठाउने गरेको खाद्य संस्थान धनगढीका निमित्त प्रमुख गंगादत्त पन्तले बताउनुभयो ।