This is a test

उम्मेदवारको हत्या प्रयास गरेको भन्दै किटानी जाहेरी

0

नरेन्द्र कार्की, दार्चुला ०५ आषाढ ।

 मार्मा गाउँपालिका वडा नम्बर ५ का नेकपा एमालेका तर्फबाट वडा सदस्य पदका उम्मेदवार २७ वर्षीय कमलसिह बोहरालाई हत्या प्रयास गरेको भन्दै जिल्ला प्रहरी कार्यालय दार्चुलामा किटानी जाहेरी परेको छ । असार ४ गते उम्मेदवार मनोनयनको क्रममा एमाले कार्यकर्ता र उम्मेदवार माथि नेकपा माओवादी केन्द्रले सुनियोजित तरिकाले हमला गरेको भन्दै ८ जना माओवादी कार्यकताको नाममा आज किटानी जाहेरी परेको हो ।

झडपमा संग्लन रहेका नेकपा माओवादी केन्द्रका वाइसिएल जिल्ला इन्चार्ज एवं मार्मा गाउँपालिका १ का जयसिह महर, कमलेशसिह ठगुन्ना, वडा नम्बर २ का नरबहादुर विष्ट, वडा नम्बर ३ का केशरसिह धामी, वडा नम्बर ४ का करबीरसिह धामी, डम्मरसिह धामी, धनसिह धामी र वडा नम्बर ६ का शंकरसिह धामीको नाममा किटानी जाहेरी दिइएको नेकपा एमाले जिल्ला कमिटी सचिव ज्ञानेन्द्र घर्तीले जानकारी दिनुभयो ।

आइतबार भएको झडपमा नेकपा एमालेका दर्जन बढि कार्यकर्ता घाइते भएका थिए । घाइते मध्ये वडा सदस्य पदका उम्मेदवार कमलसिह बोहरालाई सोमबार जिल्ला अस्पताल दार्चुलामा उपचार हुन नसकेपछि कोहलपुर रिफर गरिएको छ । बोहराको टाउँकोमा गम्भीर चोट लागेको छ ।

एमाले जिल्ला कमिटी सचिव ज्ञानेन्द्र घर्तीले लटिनाथमा नेकपा माओवादी केन्द्रले आफ्ना कार्यकर्ता माथि सुनियोजित ढंगले आक्रमण गरेको बताउनुभयो । ३ बजे उम्मेदवारी मनोनयन गर्न जाने क्रममा कार्यकर्ता र उम्मेदवारी माथि ढुंगा, छड र खुकुरी प्रहार भएको उहाले आरोप लगाउनुभयो ।

यसैबीच जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी केदार खनालले घट्नालाई गम्भीरताका साथ लिएको बताउदै घट्नाको अनुसन्धानका लागि सोमबार नै प्रहरी निरीक्षक अनिश बुढाथोकी नेतृत्वको टोली मार्मा गाउँपालिकाको लटिनाथ पठाइएको जानकारी दिनुभयो ।

घट्नाको सत्य तथ्य छानबीन गरि कार्वाही प्रक्रिया अघि बढाइने उहाँले बताउनुभयो । घट्नाको अनुसन्धान र त्यहाँको सुरक्षा अवस्थाबारे जानकारी लिन आफु समेत मंगलबार मार्मा गाउँपालिका जाने तयारीमा रहेको उहाँले बताउनुभयो । अहिले मार्मा क्षेत्रमा थप सुरक्षाकर्मी पठाइएको छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved