हतियार देखाएर लुटपाट

0

महेन्द्रनगर, १ कात्तिक ।

कञ्चनपुरको भीमदत्त नगरपालिका १ बारकुन्डास्थित एक घरमा मंगलबारराति अज्ञात समूहले हतियार देखाएर लुटपाट गरेको छ । राति १२ बजेको समयमा हतियार सहित आएको ४÷५ जनाको समूहले भीमदत्त नगरपालिका १ बारकुन्डास्थित लालमणी कुँवरको घरमा लुटपाट गरेको हो । ८४ वर्षिय बृद्व कुँवरको घरमा उनको बुहारी र नातीनातीहरुल मात्रै भएको मौका पारेर लुटपाट भएको हो ।

घरको एक कोठामा परिवारका मानिसहरुलाई बन्द गरेर लुटेराको समूहले घरबाट ८ तोला सुनका गरगहना र चाँदी लुटेर लगेको पीडित परिवारले जाहेरीमा उल्लेख गरेको वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक टक्कर स्वाँरले बताउनुभयो । उहाका अनुसार लुटेराहरुको समूहले दराजमा राखेको डेढलाख नगद समेत लिएर गएका छन् ।

प्रहरीका अनुसार घरमा राखिएका पुराना भाडाबर्तन, मोबाइल लगायतका सामानहरु समेत लुटेराको समूहले लिएर गएको छ । घरको कोठामा बन्द गरेका कारण रातिनै कसैलाई खबर गर्न नसकिएको र बिहान छिमेकीहरुले ढोका खोलेपछि मात्रै पीडित परिवारले प्रहरीलाई जानकारी गराएका थिए ।

मुखमा मास्क लगाएर आएकाले मानिसहरु चिन्न नसकिएको पीडितहरुले बताएका छन् । प्रहरीले लुटेरा समूहको खोजी कार्य भइरहेको बताएको छ । बारकुन्डा क्षेत्र कञ्चनपुरको चुरे फेदि नजिक पर्दछ । तिहारकै समयमा रातिको समयमा लुटपाट भएपछि बारकुन्डा क्षेत्रका सर्वसाधरण त्रसित भएका छन् ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved