सुख्खा बन्दरगाहको सम्भाव्यता अध्ययन गर्न प्राविधिक टोली कञ्चनपुरमा

0

बीपी अनमोल, महेन्द्रनगर २७ साउन ।

कञ्चनपुरको महाकाली नगरपालिका ७ कन्जमा(दोधारा–चाँँदनी) निर्माण हुने सुख्खा बन्दरगाहाको सम्भाव्यता अध्ययन गर्न प्राविधिक टोली कञ्चनपुर पुगेको छ । सुख्खा बन्दरगाहाको थप सम्भाव्यता अध्ययन गर्न जिम्मा पाएको सितारा कन्सल्टेन्सका प्राविधिकहरुको टोली कञ्चनपुर आईपुगेको हो । कन्सल्टेन्सका प्राविधिक अनिल मर्सानीका नेतृत्वमा ४ सदस्यीय टोली कञ्चनपुर पुगेको हो । टोलीले चारदिनसम्म कञ्चनपुरमा बसेर सुख्खा बन्दरगाहका विषयमा अध्ययन गर्नेछ ।

यसअघि समेत सुख्खा बन्दरगाहको अध्ययन गरिएको टोली प्रमुख अनिल मर्सानीले बताउनुभयो । यसअघि तयार पारिएको प्रतिवेदनमा टेकेर आवश्यक थप सम्भाव्यता अध्ययन गरिने उहाले बताउनुभयो । वाणिज्य तथा आपूर्ति मन्त्रालयले सम्भाव्यता अध्ययनका लागि सितारा कन्सटेन्सलाई जिम्मा दिएपछि प्राविधिकहरु सहितको टोली अध्ययनका लागि कञ्चनपुर पुगेको प्राविधिक अनिल मर्सानीले बताए । हामीले स्थलगत रुपमा सुख्खा बन्दरगाहा बन्न सक्ने स्थानको साईट अध्ययन गर्ने उहाले बताउनुभयो ।

टोलीले भारतबाट आयात हुने र भारततर्फ निर्यात हुने वस्तुहरुको अहिलेको अवस्था र व्यापारका सम्भावनाका बारेमा समेत भन्सार कार्यालय सहितका सरोकारावाला निकायसंग समेत छलफल गर्ने टोलीका सदस्य अर्थशास्त्री डा. भोजराज अर्यालले बताउनुभयो । सुख्खा बन्दरगाहा निर्माण भइसकेपछि रोडसंग कसरी जोड्न सकिन्छ भन्ने विषयमा समेत अध्ययन हुने टोलीले जनाएको छ । यसअघि नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक लक्ष्मणबहादुर बस्नेत नेतृत्वको टोलीले समेत अध्ययन गरेको हो ।

सो टोलीले तयार पारेको प्रतिवेदन संगै थप अरु अध्ययन हुनेछ । महाकाली नदीमा पक्की पुल निर्माणको काम अघि बढ्न लागेसंगै सुख्खा बन्दरगाहा सम्बन्धमा समेत सम्भाव्यता अध्ययन हुनु सकारात्मक भएको यस क्षेत्रका उद्योगी व्यवसायीहरुले बताएका छन् । पुल निर्माणसंगै सुख्खा बन्दरगाहाको सम्भाव्यता अध्ययन  सुखःद कुरा भएको कञ्चनपुर उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष माधवप्रसाद जोशीले बताउनुभयो ।

महाकालीमा चार लेनको पक्की पुल, सुख्खाबन्दरगाहा बने यसले ७ नम्बर प्रदेश मात्र नभई समग्र नेपालकै लागि फाईदा पुग्ने उहाले बताउनुभयो । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) प्रधानमन्त्री भएका बेला प्राविधिक सहितको टोली ल्याएर प्रधानमन्त्रीले समेत सुख्खा बन्दरगाहा बन्ने ठाउँको स्थलगत रुपमा निरीक्षण समेत गरेका थिए । कञ्चनपुरका उद्योगी व्यवसायीहरुले सुख्खा बन्दरगाहा निर्माणको काम छिट्टै अघि बढाउनुपर्ने माग राख्दै आएका छन् ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved