This is a test

सिटि स्क्यान खरिदका लागि पठाएको ६ करोड रकम फ्रिज हुने सम्भावना

0

शिवराज भट्ट, धनगढी २९ बैशाख ।

स्वास्थ्य मन्त्रालयले यसपाली सुदूरपश्चिममा दुई वटा अस्पतालमा सिटि स्क्यान खरिदका लागि पठाएको ६ करोड रकम फ्रिज हुने सम्भावना देखिएको छ । बैशाखको पहिलो हप्ता धनगढीमा रहेको सेती अञ्चल अस्पताल र डडेल्धुराको उप–क्षेत्रीय अस्पतालमा सिटि स्क्यान खरिदका लागि स्वास्थ्य मन्त्रालयले तीन÷तीन करोडको अख्तियारी पठाएको छ ।

डडेल्धुरा उपक्षेत्रीय अस्पतालले त बैशाख दोस्रो हप्ता राष्ट्रिय पत्रीकामा प्रकाशित गरेको टेन्डरको सूचना समेत मन्त्रालयले रद्ध गरिदिएको छ । सार्वजनिक खरिद नियमावलीमा ६० लाख भन्दा बढीको सामान खरिद गर्न ई–टेन्डरमा जानुपर्ने प्रावधान रहेकाले, उपक्षेत्रीय अस्पतालले गरेको टेन्डर रद्ध भएको अस्पताल प्रमुख डाक्टर शिबराज पनेरुले जानकारी दिनुभयो ।

सेती अञ्चल अस्पतालका लागि बैशाख ५ गते र उपक्षेत्रीय अस्पताललाई बैशाख ६ गते सिटि स्क्यान खरिदका लागि तीन÷तीन करोडको अख्तियारी आएको थियो । दुबै अस्पतालले सिटि स्क्यान खरिदका लागि कम्तीमा पनि चार÷पाँच महिना लाग्ने भएकाले र चालु आर्थिक वर्षमा त्यती समय नभएकाले अन्यौलता भएको जनाएका छन ।

सेती अञ्चल अस्पतालले त, स्वास्थ्य मन्त्रालयलाई अर्को आर्थिक वर्षमा भुक्तानी हुने गरी ई–टेन्डरका लागि अनुमति मागेको छ । अस्पताल स्रोतका अनुसार मन्त्रालयमा लिखितै पत्राचार गरिएको छ । तर मन्त्रालयले भने यसबारे जवाफ नदिई सकेकाले के गर्ने अन्यौलता यथावत नै रहेको अस्पताल स्रोतले जनाएको छ ।

सिटि स्क्यानका लागि ३० दिने ई–सूचना प्रकासित गर्नुपर्ने, त्यसपछि कम्तीमा पनि १५ दिनको आशय प्रकाशीत गर्नुपर्ने, त्यसपछि टेन्डर परेका ठेकेदारले मेसिन मगाउन समय लाग्ने, मेसिन आएपछि पनि जडानमा समय लाग्ने भएकाले कम्तीमा पनि चार÷पाँच महिना लाग्ने देखिएको उप–क्षेत्रीय अस्पतालका प्रमुख डाक्टर पनेरुले बताउनुभयो ।

सिटि स्क्यान मेसिन आएर जडान गरेपछि पनि राम्ररी काम गरे नगरेको हेरेर मात्रै भुक्तानी दिनुपर्ने भएको र त्यत्ती काम गर्दा अर्को आर्थिक वर्ष लागि सक्ने भएकाले दुबै अस्पताले के गर्ने भनेर टुंगो लगाउन सकेका छैनन । सेती अञ्चल अस्पतालले भने मन्त्रालयले उक्त रकम अर्को आर्थिक वर्षमा भुक्तानी गर्न सकिने भनेर स्वीकृती दिई हाल्यो भने छिट्टै ई टेन्डरमा जानका लागि ईष्टिमेट तयार पारिसकेको र ई टेन्डरको प्रारम्भीक प्रकृया पनि सुरु गरिसकेको जनाएको छ ।

यसअघि पनि सेती र महाकाली अञ्चल अस्पतालमा आईसीयुका लागि एक÷एक करोड रकम आर्थिक वर्षको अन्तमा अन्तमा आएको थियो । त्यसवर्ष त्यो रकम फ्रिज भएपनि नयाँ आर्थिक वर्षमा भने फेरी आएको थियो । यसपाली सरकार पनि परिवर्तन हुने हल्ला चलेको र त्यसपछिका स्वास्थ्यमन्त्रीले त्यो बजेट दिने वा नदिने टुंगो नभएकाले दुबै अस्पताल प्रशासन विना अनुमति ईटेन्डर गर्न डराई रहनु भएको छ ।

सुदूरपश्चिममा दुर्घटना बढी हुने र त्यसपछि समयमै सिटि स्क्यान हुन नसकेका कारण भारतका शहरहरुमा धाउनुपर्ने बाध्यता छ । सुदूरपश्चिममा दुई वटा सिटि स्क्यान जडान भएपछि भने त्यो समस्याबाट छुटकारा पाईने छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved