सस्तो रसायन आपुर्ती गरिएकाले एचआईभी संक्रमितको नेगेटिव रिपोर्ट

0

सीताराम ओझा, धनगढी २७ असोज ।

सेती अञ्चल अस्पतालमा लेखा, स्टोर र औषधी आपुर्तिकर्ताको मिलोमतोमा महँगोमा टेण्डर सम्झौता गरेर सस्तो मुल्यका औषधीहरु दिने गरेको खुलासा भएको छ । केही समय अगाडी अस्पतालको प्रयोगशालामा प्रयोग हुने रसायन र किटहरुमा घोटाला भईरहेको हो । स्टोर लेखा र आपुर्तिकर्तावीचको रकम चलखेलले महँगो मुल्य पर्ने वस्तुको टेण्डर पाएर पनि सस्तो मुल्य पर्ने कम्पनीका रसायनहरु दिने गरिएको खुलासा भएको हो । कमसल र कम गुणस्तरका औषधीहरु दिए वापत आपुर्तिकर्ता औषधी व्यवसायीले अस्पतालका कर्मचारीहरुलाई मोटो रकम दिएर आफ्नो पक्षमा पार्दै आएको स्रोतको दावी रहेको छ ।

कमिसनको चक्करमा चेकजाँचका लागि प्रयोगशाला पुगेकाहरुले गलत रिर्पोट पाईरहँदा उनीहरु समस्यामा परेका छन । केही दिन अगाडी यस्तै एक घटना भएपछि औषधी व्यवसायीहरुको बदमासी बाहिर आएको हो । ढाई दशकदेखि एक छत्र सेती अञ्चल अस्पतालमा औषधी र उपकरण आपुर्तिमा राज गर्दै आएको डिबि मेडिसिनको वदमासी एकपछि अर्को सार्वजनिक भईरहेका वेला प्रयोगशालाको रसायनमा पनि कम गुणस्तरको दिईएको भेटिएको छ ।

केही महिना अगाडी प्रयोगशालाको लागि खोलिएको टेण्डर पाएको डिबि मेडिसिनले लेखा र स्टोरको मिलोमतोमा महँगो मुल्यमा रसायन आपुर्तिको काम पाएर सस्तो मुल्यका रसायन पठाउँदा मानव स्वास्थ्यसँग खेलवाड भईरहेको छ । केही दिन अगाडी भारतमा एचआईभी संक्रमित भएका एक जना पुरुषको जाँच गर्दा डिबी मेडिसिनले नै आपुर्ती गरेको एसडी एलर नामक किटले संक्रमित पुरुषलाई एचआईभी नेगेटीब देखायो ।

सामान्यतया सय किटमा एक÷दुई प्रतिसत यस्तो देखिने गरिएपनि लगातार दुई पटक गरिएको परिक्षणमा पनि एआईभी पजेजिवलाई नेगेटिब देखाएको हो । भारतमा पोजेटिब देखिएका तर नेपालमा लगातार दुई किटले पनि नेगेटिब देखिएपछि उहाँको परिक्षण, राष्ट्रिय एड्स तथा यौन रोग महाशाखाले पठाएको किटले गरिएको थियो । यसपटक भने उहाँको एआईभी पोजेटिभ देखिएको सेती अञ्चल अस्पतालको प्रयोगशालाका ल्याव टेक्नीसियन अधिकृत दिपक जोशीले बताउनुभयो ।

दुष्यन्त वस्नेत सञ्चालक रहेको डिबि मेडिसिनले लामो समयदेखि प्रयोगशालाका रसायन र किटहरु महँगो मुल्यमा टेण्डर पाउने तर सस्तो मुल्य पर्ने सामानहरु आपुर्ती गर्ने गरेको पाईएको हो । त्यो सस्तोमा पठाएवाफत लेखा र स्टोरले मोटो रकम पाउने गरेका छन । डिबि मेडिसिनले एचआईभी ट्राईटेड नामक किट एचआईभी जाँचका लागि दिने टेण्डर पाएको थियो तर अस्पतालको प्रयोगशालामा एमडी एलर नामक किट पठाईएको छ ।

प्राविधिकहरुका अनुसार टेण्डरमा उल्लेख भएको किटको मुल्य प्रति किट एक सय रुपैयाको हारहारीमा पर्दछ भने पठाईएको किटको मुल्य ५० रुपैयाको हाराहारीमा पर्दछ । यसरी एचआईभीको एउटा किटमा मात्रै वदमासी गर्दा एक किटमा ५० रुपैया भ्रष्टाचार भएको छ । तर त्यसका लागि स्टोरमा दाखिला गर्न र भुक्तानी लिनका लागि स्टोर र लेखाको मिलोमतो विना सम्भव नभएकोले मिलोमतोमा लाखौको घोटाला भईरहेको हो ।

चिकित्सकका अनुसार एचआईभी किटको प्रयोग मिति सकिएको, गुणस्तहीन भएको र आवश्यक तापक्रममा नराखेको वाहेक अन्य अवस्थामा यसले दिने रिर्पोटमा ९९ प्रतिशत सत्यता हुन्छ । तर औषधी आपुर्तिकर्ता दृष्यन्त वस्नेतले पठाएको एचआईभीको किटले दिने रिर्पोट पत्याउन सकिने किसिमको नभएको सेती अञ्चल अस्पतालको एआरटी सेन्टरमा कार्यरत डाक्टर कृष्ण शर्माले बताउनुभयो । अस्पतालको प्रयोगशालामा प्रयोग हुने रसायन र किटहरु आपुर्तिकर्ताले स्टोरमा दाखिला गरेपछि मात्रै लेखावाट भुक्तानी हुन्छ । आवश्यक किट र रसायनहरु प्रयोगशालाले माग गरेपछि स्टोरले दिने गर्दछ ।

टेण्डर परेको कम्पनी मुल्य संख्या लगायतका जानकारी भएको प्रतिलिपी स्टोरले प्रयोगशालालाई अनिवार्य रुपमा दिनुपर्ने भएपनि आफ्नो पोल खुल्ने डरले नदिने गरिएको छ । लेखा अधिकृत लोचनराज रेग्मीले भुक्तानी गर्दा ५ प्रतिशत र कोटेसनवाट काम गराउँदा २५ प्रतिशत कमिसन नखाईकन भुक्तानी नदिने तथा स्टोरका नायव सुव्वा जीतवहादुर शाहले पनि टेण्डरमा एक र आपुर्तिकर्ताले अर्कै सामान दिदा त्यसलाई मिलान गरे वापत मोटो रकम पाउने आरोपलाई प्रयोगशालामा भएको यो घटनाले थप पुष्टि गरेको छ ।

तर अहिले प्रयोगशालामा पठाईएका किटहरु फिर्ता गरेर अर्को किटवाट जाँचको काम सुरु गरिएको ै प्रयोगशाला ईन्चार्ज रमेश शाहीले बताउनुभयो । आपुर्तिकर्ता लेखा र स्टोरको मिलोमतोमा अस्पतालमा जनताहरुले उपचार गराए वापतको ठुलो रकमको हिनामिना हुँदा पनि अस्पताल विकास समितीले अहिलेसम्म मुख खोलेको छैन । कतै ठुलो रकम दिएर अस्पताल विकास समितीका पदाधिकारीहरुको पनि मुख बन्द गरिएको त छैन भन्ने आशंका उव्जिन थालेको छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved