माघ ५ देखी रुस्लान धनगढी प्रिमियर लिग २, विजेताले २५ लाख पाउने

0

धनगढी, २२ असोज ।

तस्वीर सौजन्य : नेपाल खबर

सर्वािर्धक पुरस्कार राशी सहित धनगढी प्रिमियर लिग (डिपीएल)को दोस्रो संस्करण घोषणा गरिएको छ । आयोजक धनगढी क्रिकेट एकेडेमी (डिसिए) र सुदुरपश्चिमाञ्चल एकेडेमी (सपीए)ले सयुंक्त रुपमा आइतबार राजधानीमा एक कार्यक्रमका बीच माघ पाँच गते देखि धनगढीमा सञ्चालन हुने गरि डिपीएल–२ को घोषणा गरेको हो । गत वर्ष आयोजित डिपीएलको पहिलो संस्करण भन्दा यसवर्ष पुरस्कार राशी झण्डै दोब्बर बनाइएको छ । गतवर्ष साढे २८ लाख बराबरको पुरस्कार राशी रहेको प्रतियोगिताको यस वर्ष ५० लाख बराबरको पुरस्कार रहने आयोजकले जनाएको छ ।

करिब तीन करोडको लागतमा आयोजना गर्न लागिएको प्रतियोगिताको विजेताले २५ लाख तथा उपविजेताले १० लाख पाउने भएका छन् । पहिलो संस्करणको विजेताले १५ तथा उपविजेताले ७ लाख रुपैया पाएका थिए । यो नेपाली क्रिकेट इतिहासकै सर्वा्धिक पुरस्कार राशी हो । बढीमा आठ टोलीको सहभागिता रहने डिपीएलको विजेता, उपविजेतासँगै तेस्रो र चौथो हुने टोलीले पनि पुरस्कार पाउने व्यवस्था गरिएको छ ।

तेस्रो हुने टोलीले नगद तीन लाख तथा चौथो हुने टोलीले दुई लाख पाउने आयोजक डिसिएका अध्यक्ष तथा एसपीएका निर्देशक सुवाश शाहीले बताउनुभयो । डिपीएलका प्रत्येक खेलका म्यान अफ द म्याचले १० हजार तथा म्यान अफ द सिरिजले टीभीएस अपाचे १८० सीसीको मोटरसाइकल पाउनेछ । प्रतियोगितामा देशका विभिन्न शहरका फ्रेन्चाइज टोलीहरुको सहभागिता हुनेछ ।

प्रतियोगिताको पहिलो सिजनमा सहभागिता जनाएका टोलीहरुलाई प्राथमिकता दिएर बढीमा दुई टोली थप्दै प्रतियोगिता सञ्चालन गरिने आयोजकले जनाएको छ । पहिलो सिजनमा काठमाडौं गोल्डन्स, बिराटनगर किंग्स, रुपेन्देही च्यालेन्जर्स, सिवाइसी अत्तरिया, कञ्चनपुर आइकोनिक तथा टिम चौराह धनगढीले सहभागिता जनाएका थिए । यस सिजनमा सहभागिताका लागि विभिन्न शहरहरुले प्रस्ताव गरेको र टोलीको टुंग्यो केहीदिनमा लाग्ने प्रतियोगिता निर्देशक शाहीले बताउनुभयो ।

डिपीएल सिजन एकमा पहिलो पल्ट राष्ट्रिय खेलाडीहरुको बोलकबोल (अक्सन) गरेको आयोजकले यस सिजनमा पनि त्यसलाई निरन्तरता दिने भएको छ । गत सिजनमा कप्तानहरुले डेढ लाख तथा अन्य खेलाडीले एक लाख रुपैयासम्म अक्सन मार्फत पारिश्रमिक पाएकोमा यसपटक भने रकममा खेलाडीको न्युनतम मुल्यमा बढावा हुने आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागी हुन चाहाने खेलाडीहरुले आफ्नो नाम धनगढी क्रिकेट एकेडेमीमा दर्ता गराउनु पर्नेछ । नाम दर्ता भएका खेलाडीहरुलाई अक्सनमा समावेश गरिने साथै प्रतियोगिता खेल्ने टिमहरुको घोषणा र अक्सन आगामी मंसिरमा गरिने शाहीले बताउनुभयो ।

टी–२० प्रतियोगिताको लिग चरणमा प्रत्येक टिमले अरु टिमसँग एक–एक खेल खेल्नेछन् भने शीर्ष चार टोली प्ले–अफमा पुग्नेछन ्। त्यसमा पहिलो र दोस्रो हुने टिमको विजेता फाइनल पुग्ने र पराजित हुने टोलीले तेस्रो र चौथो हुने टिमसँगको विजेतासँग फाइनल प्रवेशको लागि खेल्नेछ । प्रतियोगितामा हेर्न दर्शकका लागि विभिन्न टिकटदरहरु लागु गरिने भएको छ। लिग चरणका खेलहरुका लागि पचास, प्ले—अफमा सत्तरी र फाइनलमा सय रुपैयाको टिकट हुने आयोजकले जनाएको छ ।

टिकट बिक्रीको २० प्रतिशत रकम फाप्ला अन्तर्रा्ष्ट्रिय निर्माण अभियान (ड्रिम फाप्ला) लाई छुट्याइने र बाँकी सहभागी टिमलाई ४० प्रतिशत रकम बाँडिनेछ । डिपीएल सिजन दुईको मुख्य प्रायोजक रुस्लान क्रिकेट रहनेछ । मुख्य प्रायोजकसँग आयोजक डिसिएले प्रतियोगिता घोषणा सभामै सम्झौता गरेको छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved