भीमदत्तको १ अर्ब ६४ लाख बजेट

0

विपी अनमोल, महेन्द्रनगर २६ साउन ।

भीमदत्त नगरपालिकाको प्रथम नगर सभाले चालु आर्थिक वर्ष २०७४÷७५ का लागि १ अर्ब ६४ लाख बराबरको अनुमानित बजेट विनियोजन गरेको छ । प्रथम नगर सभाबाट १ अर्ब ६४ लाख ९ हजार १ सय ६२ रुपैयाँको अनुमानित बजेट विनियोजन गरिएको नगरपालिकाका प्रवक्ता राजेन्द्र पाण्डेयले जानकारी दिनुभयो ।

नगर सभामा नगरपालिकाका उपप्रमुख सुशिला चन्द सिंहले नगरपालिकाको नीति, कार्यक्रम र बजेट प्रस्तुत गर्नुभयो । नगरपालिकाले आन्तरिक आयतर्फ ४ करोड ६७ लाख २५ हजार रुपैयाँ, वित्तीय समानिकरणबाट ५८ करोड ३९ लाख ५३ हजार रुपैयाँ, सामाजिक सुरक्षा भत्ताबाट १८ करोड रुपैयाँ, नगर विकासको ऋणबाट ६ करोड ५० लाख रुपैयाँ अनुमान गरिएको छ ।

नगरपालिकाको स्वामित्वमा रहेका पसल कोठाको नामसारी गर्दा सोही व्यक्तिको ३ पुस्ताभित्र नामसारी गर्ने तथा अन्य व्यक्तिको नाममा नामसारी नगरी नियमानुसार पसल कबुल बढाबढी प्रक्रियाद्वारा पसल कबुल भाडामा दिने, नगरपालिकाभित्रका विद्यालयमा शिक्षकको दरबन्दी विद्यार्थी र विषयगत आधारमा व्यवस्थापन गर्ने निर्णय सभाले पारित गरेको छ । नगर चक्रपथ, नविकरणीय उर्जा, सडक यातायात गुरुयोजना, नगरपालिका परिसरको गुरुयोजना, फोहोरमैला व्यवस्थापन गुरुयोजना तयार गरेर लागू गर्ने लगायतका कार्यक्रमलाई प्राथमिकता दिएको छ ।

भीमदत्त नगरपालिकाले सीमावर्ती नगरहरुसंग जोडिनका लागि आवश्यक अध्ययन गरी सडक निर्माण र भएका सडकहरुको स्तोरन्नती गर्ने, भीमदत्त नगरपालिकालाई देशकै उत्कृष्ट शिक्षा, स्वास्थ्य, पर्यटन, सुचना प्रविधि र वातावरण मैत्री नगरपालिकामा रुपान्तरण गर्ने लगायतका कार्यक्रम अघि सारेको हो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved