This is a test

बैधानीक नाका नहुँदा चोरीपैठारी बाध्यता

0

नवराज पनेरु, धनगढी २७ असोज ।

कञ्चनपुरको दक्षिणी भेग पुनर्वासमा भन्सार कार्यालय नहुँदा चोरीपैठारी बढेको छ । भन्सार कार्यालय नभएकाले राजस्व बुझाउन सम्भव नहुँदा इमान्दारीपूर्वक व्यवसाय गर्न चाहनेले समेत राज्यलाई कर तिर्न नपाएको गुनासो गरेका छन् । दिनेश एफएमले पुनर्वासमा रेकर्ड गरेको साझा मञ्च कार्यक्रममा स्थनीयले यस्तो गुनासो गरेका हुन् । सशस्त्र द्वन्द्वका बेला पुनर्वासको त्रिभुवनबस्तीबाट विस्थापित भएको छोटी भन्सार कार्यालय पुनःस्थापना हुन नसक्दा भन्सार छलेर करोडौंका मालसामान चोरीपैठारी हुने गरेको छ ।

भन्सार कार्यालय नभएकाले राजस्व बुझाउन सम्भव नहुँदा इमान्दारीपूर्वक व्यवसाय गर्न चाहनेले समेत राज्यलाई कर तिर्न नपाएको बताएका छन । भन्सार कार्यालय सञ्चालनमा नरहँदा गौरीफन्टा र गड्डाचौकी नाका भएर आवतजावत गर्न लामो दूरीको प्रयोग गरी बढी यातायात खर्च बेहोर्नु पर्ने भएकाले बाध्यताले चोरी पैठारी गर्नुपरेको व्यवसायी खेमराज लामीछानेले बताउनुभयो । राजस्व संकलन गर्ने निकायको अनुपस्थितिमा सो क्षेत्रका आइबिआरडी, त्रिभुवनबस्ती, आनन्द बजार आसपासमा निर्वाध चोरी पैठारी बढेको छ ।

परासन छोटी भन्सार कार्यालय पुनःस्थापना नगरिएपछि सो क्षेत्रका व्यापारीलाई भन्सार तिरेर मालसामान ल्याउन कठिनाइ भएको र सीमामा बस्ने भारतीय सुरक्षाकर्मीले दुःख दिने गरेको बताएका छन् । २०६१ सालमा छोटी भन्सार कार्यालय विस्थापित भई सदरमुकाम महेन्द्रनगर सरेको थियो तर त्यसलाई पुनस्थापना नगर्दा ईच्छा विपरीत अवैध काम गर्नुपरेको पुनर्वास उद्योग वाणीज्य संघका वरिष्ठ उपाध्यक्ष राज कुमार राईमाझीले बताउनुभयो । अवैधानीक नाकाको प्रयोगबाट, चोरी पैठारी मात्रै बढेको छैन ति नाकाहरु भएर आवतजावत गर्दा उत्तिकै जोखीम पनि मोल्नुपरेको छ ।

भारतीय सुरक्षाकर्मीहरुले अवैधानीक नाकाको प्रयोग गरेको भन्दै धम्काउने, डराउने र रकम असुल्ने गरेका छन् भने नेपाल प्रहरी र ससस्त्र प्रहरी पनि तिनीहरुकै सिको गर्ने गरेका छन् । सहिद गोवीन्द गौतमको हत्यापछि सो क्षेत्रमा वैधानीक नाका स्थापनाको कुराले पनि निकै चर्चा पायो । तर पुनर्वासस्थित नेपाल–भारत सीमा विवाद टुङ्ग्याउन आएको सीमा सर्भे टोली काम नसकेरै फर्किएकोे ५ महिना सम्म पनि सम्पर्कमा नआएपछि सो क्षेत्रका बासीन्दामा वैधानीक नाका सञ्चालनको आशा पनि हराउदै गएको छ । पुर्नवास घटनापछि भारत आवतजावत गर्ने मुख्य नाका बन्द गरीएको छ ।

तर त्यहि नाकाको वरिपरी रहेका अवैध बाटो भएर निर्वाध रुपमा आवतजावत भईरहेको छ । सीमा सर्भे टोलीले विवाद क्षेत्र छुट्याएपछि भारतीय पक्षको सास्तीबाट छुटकारा पाउने आशा बोकेका स्थानीय बासिन्दा सीमा सर्भे टोली काम नसकेरै फर्किएपछि निराश भएका छन् । कञ्चनपुरका प्रमखु जिल्ला अधिकारीलाई समेत जानकारी नदिएर फर्कीएको सीमा सर्भे टोली ५ महिनादेखी सम्पर्कमा आएको छैन् । जस्ले गर्दा वैधानीक नाका खोल्ने प्रक्रिया पनि अगाडपि बढाउन नसकीएको पुनवार्स नगरपालीकाका मेयर जिवन थापाले बताउनुभयो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved