This is a test

पश्चिम नेपालका थारु बस्तीहरुमा माघीको रौनक

0

सीताराम ओझा, धनगढी पुस ३० गते ।

पश्चिम नेपालका थारु बस्तीहरुमा माघीको रौनकताले उल्लास थपेको छ । थारु समुदायको महान पर्व माघी पर्वका अवसरमा कैलाली, कञ्चनपुरका थारु बस्तीमा माघी पर्वको रौनकता वढेको हो । माघीकै अवसरमा कैलालीका विभिन्न स्थानमा माघी विशेष कार्यक्रम र माघी महोत्सवको पनि आयोजना भईरहेका छन ।

वर्षभरिको दुःख, पीडा बिर्संदै आपसमा मिलेर गीत गाउँदै, नाच्दै आफ्नो गाउँघर सिँगार्नेदेखि पारिवारिक मिलनको उत्साह र उमङ्गले थारु समुदायका गाउँबस्तीमा अहिले बालबालिकादेखि वृद्धवृद्धालाई माघी पर्वको रौनकले छोपेको छ । तीन दिनसम्म धुमधामका साथ मनाइने माघी पर्वमा मिठो खाने, राम्रो लगाउने र नाचगान गर्ने चलन रहेको एक जना थारु अगुवा मुलजन कठरीयाले बताउनुभयो ।

माघीमा थारू जातिको मौलिक पकवान ढिक्री, मासु, जाँडलगायतका परिकार खाने र खुवाउने गरेका कारण यसको तयारीमा थारु समुदाय जुटेका छन । माघीका लागि दुना, टपरी बनाउनेदेखि मासुको जोहो गर्ने तथा अन्य कार्यक्रमको तयारीमा थारु समुदायका घरमूलीहरु जुटिसकेका छन् । सप्ताहव्यापी यो पर्वमा थारु समुदायले कुटानी, पिसानी गर्ने, लत्ता कपडा किन्ने घर र गाउँघरको सरसफाइ गर्ने काम धमाधम गरिरहेका छन ।

माघी पर्वका अवसरमा सो समुदायले छोराछोरीको बिहे, अंशबण्डा, खेतीपातीको वार्षिक योजना बनाउनुका साथै परिवारका सदस्यको कामको बाँडफाँड समेत गर्ने गरेका कारण त्यसको व्यवस्थापनको काम पनि थालनी भईसकेको थारु महिला सुनदेवी चौधरीले बताउनुभयो । माघीको अघिल्लो दिन सुँगुर काटी मासु खाने गरिन्छ, जसलाई थारु भाषामा ‘जिता मरना’ भनिन्छ ।

त्यस रात थारु समुदाय मासु, जाँड र ढिकरी खाएर रातभर जाग्राम बसी ‘सखिया’ नृत्यमा रमाउने गर्छन् । माघीको दिन बिहान अँध्यारो छँदै उठेर नदी, जलाशयमा गई लोटामा सिक्का राखिएको पानीले नुहाउने र नुहाइसकेपछि लोटाको सिक्का लुटाउने प्रचलन रहेको छ । माघीकै अवसर पारी विभिन्न स्थानमा माघी विषेश कार्यक्रम र माघी महोत्सवको पनि आयोजना गरिएका छन ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved