निशुल्क उपचारको नाममा सुई मात्रै, फार्मेसीमा औषधी छैन

0

सीताराम ओझा, धनगढी २६ असोज ।

सरकारी निकायले सिफारिस गरेपनि सेती अञ्चल अस्पतालबाट १० हजार सम्मको निशुल्क उपचारको नाममा सुई मात्रै पाएको विपन्न वर्गहरुले गुनासो गरेका छन । सरकारले विभिन्न आठ वटा रोगहरु र १२ प्रकारका असहायहरुलाई दिने भनिएको उपचार पाउन नसकेको बिपन्न बर्गको गुनासो छ । सेती अञ्चल अस्पतालको आकस्मिक कक्ष र ओपिडीमा सेवा लिए वापत दुई हजार ५ सयसम्म र अस्पतालमा भर्ना भएर उपचार गराए वापत १० हजारसम्मको उपचार निशुल्क गर्नुपर्ने भए पनि उपचारका लागि गएकाहरुले निशुल्कको नाममा अस्पतालको फार्मेसीवाट सुई मात्रै पाउने गरेको बताएका छन । ६० वर्षीया आमाको उपचार गर्नका लागि वडा कार्यालयको सिफारिस लिएर सेती अञ्चल अस्पतालमा आउनुभएका धनगढी भन्सार रोडका चुल्लुराम डगौराले औषधी लिनका लागि अस्पतालको फार्मेसी बाट निशुल्कको नाममा सुई वाहेक केही पनि नपाएको बताउनुभयो । सेती अञ्चल अस्पतालको सामाजिक ईकाई शाखाले एकल महिला, अपाङग, आर्थिक अवस्था कमजोर भएका लगायत विभिन्न १२ प्रकारका असहायहरुलाई पनि निशुल्क उपचारका लागि सहयोग गर्दै आएको छ । तर सेती अञ्चल अस्पतालमा उपचारका लागि भर्ना भएकाहरुले निशुल्क भनिएको उपचार पाउन सकेका छैनन । उपचार सहायताका लागि सबैभन्दा पहिला रोग पहिचान भएपछि डाक्टरको पूर्जी लगेर स्थानीय तहवाट विपन्न नागरिक सिफारिस पत्र लिएर उपचारका लागि पुगेकाहरुलाई सामाजिक ईकाई शाखाले निशुल्क उपचारका लागि लेखी दिएमा औषधी उपचार पाउने गरेका छन । तर निशुल्क उपचारको कागज बनाएरपनि औषधी नपाउँदा महँगोमा किनेर उपचार गराईरहेको जागुराम चौधरीले बताउनुभयो । सरकारले विपन्नलाई औषधी उपचारमा सेवा निःशुल्क गर्ने सुनेपछि सेवा पाउन आवश्यक कागजात सहित विरामीहरु अस्पताल धाउदै उपचारका लागि भर्ना हुने गरेका छन । तर औषधीहरु अस्पतालकै फार्मेसीवाट मात्रै लिनुपर्ने भएका कारण त्यहाँ औषधीको नाममा सुई मात्रै पाएर विरामीका आफन्तहरु फर्किरहेका छन । गत साउनदेखि औषधी आपुर्ति वन्द भएका कारण औषधी अभाव भएकोले दिन नसकिएको भएपनि औषधी आपुर्तिको व्यवस्था गरिरहेकोले यो समस्या छिटोभन्दा छिटो समाधान गर्ने फार्मेसी ईन्चार्ज भरत कुँवरले बताउनुभयो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved