निगमद्धारा धनगढीको डिपोलाई अन्यन्त्र सार्ने भन्दै जग्गा खरिदका लागि निकालेको टेन्डर रद्ध

0

दीपक जोशी, धनगढी १८ साउन ।


नेपाल आयल निगमले धनगढीको डिपोलाई अन्यन्त्र सार्ने भन्दै जग्गा खरिदका लागि निकालेको टेन्डर रद्ध गरेको छ । धनगढीको डिपो सानो भएको र वरिपरि घनाबस्ती भएपछि त्यसलाई अन्यत्र सार्ने प्रक्रिया बमोजिम जग्गा खरिदका लागि आयल निगमले टेन्डर निकालेको थियो । जसमा ५ स्थानबाट जग्गा दिन सकिने भन्दै निबेदन परेपनि आयल निगमले टेन्डर नै रद्ध गरिदिएको हो । आयल निगमले संगै टेन्डर खोलेको भैरहवा, चितवन, झापा र सर्लाहीमा जग्गा खरिद गरिसकेको भएपनि धनगढीको टेन्डर मात्रै रद्ध गरेपछि यस क्षेत्रका वासिन्दा निराश भएका छन ।

धनगढीको चटकपुरमा रहेको निगमको डिपोलाई वरिपरिबाट घनाबस्तीले घेरेपछि एकातीर जोखीम बढेको र अर्कोतीर भण्डारण क्षमतामा पनि बढाउन नसक्ने अवस्था आएकाले चटकपुरबाट डिपोलाई अन्यत्र सार्ने प्रक्रिया सुरु भएको थियो । तर आयल निगमले माग गरे बमोजिमको जमिनका लागि निबेदन नपरेको भन्दै टेन्डर रद्ध गरिएको आयल निगमका प्रवक्ता सिताराम पोख्रेलले बताउनुभयो । नेपाल आयल निगमले अत्तरीया क्षेत्रलाई केन्द्रित गरी ४ वटा ईलाका छुट्याएर जग्गा विक्री गर्न ईच्कुक जग्गा धनीका लागी बोलपत्र आह्वान गरेको थियो ।

पौष २२ गतेको गोरखापत्रमा आह्वान गरीएको बोलपत्रमा ५ ओटा निबेदन परेपनि निगमले कसैलाई पनि सदर नगरेर टेन्डर प्रक्रिया नै रद्ध गरिदिएको हो । तर अहिले निबेदन परेको जमिनमा कुन मापदण्ड नमिलेको हो भन्ने कुरा आयल निगमले खुलाउन मानेको छैन । जग्गा खरिदका लागि आव्हान गरिएको टेन्डर के कति कारणले रद्ध भएको हो भन्ने कुरा आयल निगमको क्षेत्रिय कार्यालय धनगढीले हालसम्म सोधीखोजी समेत गरेको छैन । क्षेत्रिय कार्यालयका धनगढीका प्रमुख नरेशमान डंगोल टेन्डर रद्ध भएको तर कारण थाहा नभएको बताउनुहुन्छ ।

आयल निगमको डिपो अन्यन्त्र सार्ने र भण्डारण क्षमता बढाउने बिषयमा आयल निगमको क्षेयित्र कार्यालय धनगढीका पदाधिकारीहरु कति गम्भिर भएर लागेका छन भन्ने कुरा आफ्नो कार्यालयका लागि खोलीएको महत्वाकांक्षी योजनाको टेन्डर रद्ध हुनुको कारण समेत खोजी नगरेको घटनाबाट प्रष्ट भएको छ । हुन त आयल निगमको केन्द्रीय कार्यालयले धनगढीका लागि निगमले माग गरेको मापदण्ड बमोजिमको जमिनका लागि निबेदन नपरेको दावी गरिरहेको छ ।

संगै टेन्डर आव्हान गरिएका भैरहवा, चितवन, झापा र सर्लाहीका लागि निगमले जग्गा छनोट गरि खरिद पनि गरिसकेको अवस्थामा धनगढीको टेन्डर मात्रै रद्ध गरिनु र क्षेत्रिय कार्यालयमा समेत रद्ध हुनुको प्रष्ट कारण हालसम्म जानकारी नगराईनु आफैमा शंकास्पद बिषय बनेको छ । भारतिय नाकाबन्दीपछि नेपालमा ईन्धनको हाहाकार हुदा सरकारले धनगढीका लागि पनि कम्तीमा ९० दिनको इन्धन भण्डारण क्षमता पुगाउनका लागि झण्डै २० विगाह जग्गा खरीद गर्ने निर्णय गरेको थियो । तर जग्गाका लागि बोलपत्र आह्वान गरीए बमोजिम परेका ५ ओटा निबेदन मापदण्ड अनुसार नभएको भन्दै टेन्डर नै रद्ध गरिएपछि यस क्षेत्रका वासिन्दा निराश भएका छन ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved