नास्टको पहिलो शाखा महेन्द्रनगरमा

0

बीपी अनमोल, महेन्द्रनगर २९ आषाढ ।


नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले ७ वटै प्रदेशमा शाखा विस्तार थालेको छ । मुलुक संघीयतामा गएपछि बनेका ७ वटै प्रदेशमा नास्टले शाखा विस्तार थाल्ने अभियान अन्र्तगत ७ नम्बर प्रदेशको महेन्द्रनगरमा पहिलो शाखा स्थापना गरेको हो । बिहिवार एक कार्यक्रमका बीच नास्टका उपकुलपति प्रा.डा. जीवराज पोखरेलले नास्टको पहिलो शाखाका रुपमा महेन्द्रनगर शाखाको उद्घाटन गर्नुभएको हो ।

विज्ञान तथा प्रविधिका क्षेत्रमा भएका नयाँ–नयाँ यस क्षेत्रमा भएका प्रगतिका बारेमा जानकारी दिन नयाँ खोजका लागि शाखाको विस्तार गरिएको नास्टका बैज्ञानिक डा. जितु उपाध्यायले जानकारी दिनुभयो । शाखाको उद्घाटन गर्दै उपकुलपति डा. जीवराज पोखरेलले नास्ट स्थापनाको ईतिहासमा ७ नम्बर प्रदेशमा शाखा खोलेर प्रविधि क्षेत्रमा नविनतम खोज ल्याउने प्रयास भएको बताउनुभयो ।

७ नम्बर प्रदेश विभिन्न जडिबुटीको खानी भएको क्षेत्र भएकाले समेत नास्टको स्थापनाले त्यसको खोज अनुसन्धानमा यसले ठूलो सहयोग गर्ने उहाँको भनाई छ । नास्टले अत्याधुनिक उपकरण सहितको प्रयोगशाला र कार्यालय बनाउन जमिनको आवश्यकता रहेको भन्दै जमिनका लागि पहल भइरहेको बताएको छ । पूर्व जिल्ला उपसभापति राजेन्द्र सिंह रावलको संयोजकत्वमा जग्गा खोजविन समिति गठन गरिएको छ ।

समितिका संयोजक राजेन्द्र सिंह रावलले नास्टका लागि आवश्यक जमिन खोज्ने काम भइरहेको बताउनुभयो । उहाँले सरोकारवाला सबैको सल्लाहमा सकेसम्म सरकारी स्तरबाटै जमिन उपलब्ध गराउनका लागि पहल भइरहेको बताउनुभयो । कार्यक्रममा सहभागी विभिन्न क्षेत्रका व्यक्तित्वहरुले नास्टले शाखा विस्तारको थालनी गर्दा पहिलो चरणमा ७ नम्बर प्रदेशको कञ्चनपुर जिल्लालाई छनोट गरेकोमा धन्यवाद व्यक्त गरेका थिए । नास्टको स्थापनासंगै विभिन्न खोज गर्न चाहनेहरुका लागि ठूलो मद्वत पुग्ने विश्वास यहाँका बुद्विजिविहरुको रहेको छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved