धनगढी विमानस्थलमा सामान चेकजाँच गर्ने एक्सरे मेसिन संञ्चालनमा

0

दीपक जोशी, धनगढी २६ असोज ।

कैलालीको धनगढी बिमानस्थलमा यात्रुहरुको सामान चेकजाँच गर्ने एक्सरे मेसिन संचालन गरिएको छ । बिमानस्थलको सुरक्षा ब्यवस्थालाई मध्यनजर गर्दै नागरिक उड्डयन प्राधिकरणले धनगढी बिमानस्थलमा अत्याधुनिक प्रबिधिको यात्रुको सामान जाँच गर्ने एक्सरे मेसिनको स्थापना गरी बुधवार देखि संचालनमा आएको हो । ८० लाख लगानीमा स्थापना गरिएको मेसिनको एक कार्यक्रमका बिच कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल र नेपाल प्रहरीका एसएसपी दानसिंह बोहोराले संयुक्त रुपमा रिवन काटेर उद्घाटन गर्नुभयो । एक महिना अगाडी नै जडान गरिएको यात्रुको सामान चेकजाँच गर्ने एक्सरे मेसिन संचालनमा आएपछि धनगढी बिमानस्थलको हवाई उडान थप सुरक्षित भएको सुरक्षा अधिकारीहरुले जनाएका छन । उडान थपिएसंगै यात्रुहरुको बढी आवागमन भईरहेका वेला बिमानस्थलमा अत्याधुनिक प्रविधियुक्त एक्सरे मेसिन जडान भएपछि हवाई सुरक्षामा महत्वपूर्ण उपलव्धी भएको कैलालीका प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजालले बताउनुभयो । एक महिना अघि नै मेसिन जडान भईसकेको भएपनि दक्ष जनशक्ती नहुदा यस अघि मेसिन संचालन हुन सकेको थिएन । तर अहिले दुई जना कर्मचारीहरुलाई तालिम दिईसकेपछि मेसिन संचालनमा आएको हो । यो मेसिनले हवाई यातायातमा प्रतिबन्धीत सामानहरु लैजानमा रोक लगाउने धनगढी बिमानस्थलका प्रमुख छबि ठकुल्लाले बताउनुभयो । अहिलेसम्म धनगढी बिमानस्थलमा यात्रुहरुको झोला लगायतका सामान खोलखाल गरी सुरक्षा चेकजाँच गरिदा झन्झटिलो र बढी समय लाग्ने गरेको थियो । तर अब मेसिनबाटै चेकजाँच हुने भएपछि यात्रुहरुले पनि सास्ती भोग्नुपर्ने छैन । बुधवारदेखि मेसिनबाटै सुरक्षा चेकजाँच हुन थालेपछि यात्रुहरुले पनि सहजता महसुस गरेका छन । धनगढी बिमानस्थलबाट अहिले धनगढी काठमाडौ दैनिक ६ ओटा उडान संचालनमा रहेका छन । एक्सरे मेसिनसँगै अन्य सुरक्षा संयन्त्रका उपकरण पनि जडान हुन नसकेकोले यसका लागि पनि सम्वद्ध अधिकारीहरुले ध्यान दिन जरुरी रहेको छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved