चैते धानमा किराको प्रकोप

0

दुर्गा देवकोटा, टिकापुर ०५ जेठ ।

वर्खामा बाढी आउने भनेर चैते धानप्रति आकर्षित भईरहेका बाढी प्रभावित क्षेत्रका किसान, चैते धानमा पनि किराको प्रकोप हुन थालेपछि चिन्तित भएका छन । कैलालीको भजनी, लालबोझी, खैलाड लगायतका स्थानका किसानहरुले झण्डै २६२ हेक्टरमा चैते धानखेती गरेका छन । तर यसपाली धानमा बाला लाग्नु अगावै किरा लागेपछि उनीहरुमा उत्पादनमा कमी आउने चिन्ता थपिएको छ ।

भजनी नगरपालिका आसपासको क्षेत्रमा किसानले लगायको चैते धान खेतीमा गवारो र पात बेरुवा किराको प्रकोप देखा परेको हो । कलिलो धानखेतीमा युरिया मलको प्रयोग गर्दा र पर्याप्त सिचाईको कमीका कारण चैते धानमा रोग र किराको समस्या देखिएको किसानहरुले बताएका छन । गतवर्ष भन्दा यस वर्ष धान खेतिमा गवारो किराको प्रकोप बढी देखा परेको भजनी नगरपालिका गोड्चौरका किसान गोपी चौधरीले बताउनुभयो ।

भजनी, थापापुर, गोडचौरा, कृष्णनगर लगायतका क्षेत्रमा जिल्ला कृषि विकास कार्यालय कैलालीले यसवर्ष २ सय ६२ हेक्टरमा चैते धान खेती विस्तार गरेको छ । चैते धान खेती गर्ने किसानलाई जिल्ला कृषि विकास कार्यालय अनुदान दिने र राम्रो पनि उत्पादन हुने भएकाले किसानहरुको आकर्षण बढेको हो तर धानखेतीमा किराको प्रकोप बढ्न थालेपनि उनीहरु निरास भएका छन ।

खेतमा किराको प्रकोप देखा पर्दा उत्पादनमा ह्रास आउने डर उनीहरुमा छ । गवारो किराका प्रकोपले धानको टुप्पो सुक्दै गएर पराल जस्तै देखिन्छ भने पात बेरुवा किराको प्रकोपले धानको पातको नशालाई बेरेर खाने भएकाले पुरै पात बटारिनुका साथै, किराले पात खादै जादा धान सुक्दै जान्छ ।

यसको नियन्त्रणका लागि धान खेतमा पानीको मात्रा कमी हुन नदिने, धानमा समस्या आउनुभन्दा पहिले रोकथामका लागि विभिन्न विषादीको प्रयोग गर्न आवश्यक रहेको रानी जमरा कुलरिया सिचाई आयोजना कृषित र्फका सहायक प्राविधिक राम नारायण चौधरीले बताउनुभयो ।

Share.

Leave A Reply