चार जनाको हत्या गरि फरार रहेका ८० वर्षिय बृद्ध पक्राउ

0

बैतडी, ०४ जेठ ।

कर्तव्य ज्यान मुद्धामा फरार रहेका एक जना ८० बर्षीय वृद्धलाई जेल चलान गरिएको छ । बैतडीको साविकको महादेवस्थान बन्तोलीका पर्मे भट्टलाई जेल चलान गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । २०४२ साल भदौ १७ गते राती तत्कालिन विजयपुर पञ्चायत अन्तर्गत पर्ने बरायलगाडा बस्ने ६५ बर्षिय अर्जुन अवस्थी, पुतली अवस्थी र कलशा अवस्थी सहित ४ जनाको खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा जेल सजाय सुनाईएका भट्ट यसअघि फरार थिए ।

जिल्ला अदालत बैतडीबाट २०५१ साल भदौमा भट्टलाई २० बर्षे कैद सुनाएको थियो । सोमबार उहाँलाई घरबाटै प्रहरीले पक्राउ गरी जेल चलान गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक हेरम्ब शर्माले जानकारी दिनुभयो । बास बस्नका लागि अर्जुन अवस्थीको घरमा बसेका र सोही राती धनमाल लुट्नका लागि भट्टले अवस्थी परिवारका ४ जना सदस्यको हत्या गरेका थिए ।

जिल्ला अदालतले कैद फैसला गरेपछि, पुनरावेदन गरेका भट्टलाई पुनरावेदन अदालत महेन्द्रनगरले पनि २०५२ साल भदौ १४ गते र त्यसपछि सर्वोच्चले २०५३ साल वैशाख १३ गते जिल्ला अदालतको फैसला सदर गरेको थियो । जेल चलान भएका भट्टको अवस्था भने अहिले निकै दयनीय रहेको प्रहरीले बताएको छ । बोकेर यताउता लैजानुपर्ने अवस्था रहे पनि कानुनको नजरमा दोषी ठहरिएका व्यक्तिले उन्मुक्ति नपाउने प्रहरी नायव उपरीक्षक शर्माले बताउनुभयो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved