खेतका गह्रामा क्रिकेट

0

शिवराज खत्री, मंगलसेन ०२ जेठ ।

दायाँ बायाँ तल माथि चारै तिर जमिन जोतिएको छ । बीचको एउटा गह्रा मात्र खनजोत गर्न बाँकी छ तर उक्त गह्राको पनि छेउछाउमा गोबर मल छरिसकिएको छ । त्यहि जोत्न बाँकी गह्रामा स्टेम्प गाडेर जिल्लास्तरिय क्रिकेट प्रतियोगिता चलिरहेको छ । यो दृश्य हो अछाम सदरमुकाम मंगलसेनको पुरानो जिल्ला बिकास समितिको कार्यालय उत्तरपट्टिको खेतबारीको ।

जहाँ बैशाख ३१ गतेबाट जिल्लास्तरिय क्रिकेट प्रतियोगिताको चौथो सस्करण चलिरहेको छ । बर्खेबाली लगाउन जोतिएका गह्रा मात्र नभएर चारै तिरको बाउन्ड्री भित्र स्थानीयका घर, साना देखि ठूलठूला रुखहरु, केराका बोट देखि सडक पनि पर्छ । गह्राको छेउछाउ तथा नालीमा प्रसस्त मात्रामा सिस्नो उम्रिएको छ ।

फिल्डिङ गर्ने क्रममा त्यहि सिस्नोले खेलाडीलाई झलिमलि चिल्छ । टन्टलापुर घामको चर्को राप र सिस्नोको चिलाईको कुनै प्रवाह नगरी खेलाडी क्रिकेट खेल्नमा व्यस्त छन् । ‘फिल्डिङ गर्दा लडेर कति गह्रा तल पुगिने हो त्यो त पत्तै हुँदैन तर पनि गह्रामा क्रिकेट खेल्नुको आनन्द बेग्लै हुँदो रहेछ’ कैलालीको टीकापुरबाट क्रिकेट खेल्न अछाम आएका मंगला बिकास कल्ब ओलीगाउँका खेलाडी महेश कँुवरले अनुभव सुनाए–‘ध्यान जति बलमा हुने भएकाले दर्गुदै जाँदा सिस्नोले चिलेर झलिमलि पार्छ ।’

चौका छक्का हुने बल पनि रुखमा या गह्राको भिटामा लागेर कहिले काँही त एक रन पनि लिन नसकिने अवस्था छ । रुख तथा घरले गर्दा कहिले काँही बल नदेखिएर एम्पायरलाई चौका हो या छक्का के हो भन्ने छुट्याउन केहि समय गाह्रो हुन्छ । ए स्टार यूवा क्लब मंगलसेनले आयोजना गरेको उक्त प्रतियोगितामा जिल्लाभरका बिभिन्न १६ टिमले सहभागिता जनाएका छन् ।

स्थानीयलगायत राष्ट्रिय तथा क्षेत्रीय स्तरका प्रतियागितामा सहभागि खेलाडी पनि बिभिन्न टिममार्फत खेल खेलिरहेका छन् । टन्टलापुर घामको कुनै प्रवाह नगरी खेलाडी जस्तै दर्शक पनि क्रिकेटको मज्जा लिन बाक्लो रुपमा उपस्थित भएका छन् । मैदानको अभावमा खेतका गह्रामा पनि क्रिकेट प्रतियोगिता आयोजना हुनु र दर्शक तथा सहयोगीहरुको बाक्लो साथ हुनुले पनि क्रिकेट खेलप्रति ग्रामिण भेगका स्थानीयको पनि क्रेज बढ्दो अवस्थामा रहेको देखिन्छ ।

यु १९ बाट राष्ट्रिय प्रतियोगिता खेलिसकेका सागर भण्डारीले खेतका गह्रामा भए पनि जिल्लास्तरिय प्रतियोगिता आयोजना हुनुले युवा पुस्तामा क्रिकेट खेलप्रतिको क्रेज निकै बढेको बताए । यस्तै गह्रामा खेलेर पनि राष्ट्रलाई योगदान पु¥याउन सक्ने खेलाडी जन्माउन सकिने उनले विश्वास व्यक्त गरे । आयोजक ए स्टार यूवा क्लबका अध्यक्ष तपेन्द्र बिष्टले क्रिकेट खेलप्रति युवाको आकर्षण बढेकाले गह्रामा भए पनि प्रतियोगिता अयोजना गरिएको सुनाए ।

सहयोगी निकाय तथा दर्शकको बाक्लो उपस्थितीले पनि प्रतियोगिता संचालनमा थप हौसला मिलेको बिष्टले बताए । १० ओवरको खेलाइने प्रतियोगितामा प्रथम हुने टिमले ३५ हजार नगद, मेडल प्राप्त गर्ने आयोजकले जनाएको छ । ए स्टारले आयोजना गरेको प्रतियोगिता सुरु हुनु एक दिन अघि मात्र मंगलसेनकै ओलीगाउँमा जिल्लाकै सर्वाधिक राशीको जिल्लास्तरिय क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ ।

मंगला बिकास क्लबले आयोजना गरेको उक्त प्रतियोगिता १० औँ सस्करण हो । लगातार १० बर्ष देखि यस्तै गह्रामा क्रिकेट प्रतियोगिता आयोजना हुँदै आएको छ । आयोजकले नै जितेको उक्त प्रतियोगिताको प्रमथ हुने टिमले ३६ हजार छ सय ६६ रुपैँया हात पारेको छ । यस्ता जिल्लास्तरिय प्रतियोगिता वाहेक गाउँ गाउँका क्लब स्तरिय थुप्रै प्रतियोगिताहरु खेत गह्रामै आयोजना हुने गरेका छन् ।

जसरी अहिले गह्रामा क्रिकेट प्रतियोगिता भइरहेका छन् त्यस्तै केहि समय पहिले सम्म खेलकुद प्रतियोगिताका नाममा गाउँ गाउँमा भलिवल प्रतियोगिता हुने गर्दथ्ये । पछिल्लो समय भने भलिवल खेल्ने गह्राहरुमा क्रिकेट खेल खेलिन थालिएको छ । टेलिभिजनमा देखिने बिभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय क्रिकेट प्रतियोगिताहरु देखेर अछाममा पनि क्रिकेट खेलप्रति युवाको क्रेज बढेको जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष छबिराज ढुंगाना बताउछन् ।

Share.

Leave A Reply