अफगानसँग नेपालको लज्जास्पद हार

0

काठमाडौँ, ५ साउन ।

आइसीसी यू१९ विश्वकपको एशियाली छनोटमा नेपालले अफगानिस्तानसँग लज्जास्पद हार व्यहोरेको छ । नेपाल अफगानसंग १४१ रनले पराजित भएको हो । १९१ रनको लक्ष्य पछ्याएको नेपाल २६ ओभरमा मात्र ४९ रनमा अलआउट भयो । नेपालले बनाएको ४९ रन मध्ये २६ रन पवन सरार्फ एक्लैले बनाएका थिए । छैटौं ओभरको अन्तिम बलबाट नेपालको विकेट पतन सुरु भएको थियो ।

पहिलो विकेटका रुपमा ओपनर आसिफ शेखलाई ६ रनमा गुमाएको नेपालले अर्को ओभरमा सन्दिप सुनारलाई पनि २ रनमा गुमाउन पुग्यो । सन्दिप लगातार तेस्रो खेलमा चल्न सकेनन् । नवौं ओभरमा नेपालका लागि घातक सावित बन्यो । अफगानी बलर नभिन उल हकले यस ओभरको चौथो, पाचौं र छैटौं बलमा क्रमसः दीपेन्द्र सिंह ऐरी, प्रनित थापामगर र अनिल शाहलाई आउट गराउँदै प्रतियोगिताकै पहिलो हृयाट्रिक लिए । त्यसपछि नेपाल निक्कै दबावमा आयो ।

आठौं नम्बरमा ब्याटिङ गर्न आएका पवन सर्राफले सम्हालिएर खेल्ने प्रयास गरे । तर, उनलाई अन्य ब्याट्सम्यानले साथ दिन सकेनन् । अन्तिम विकेटका रुपमा आउट भएका पवनले २६ रन बनाए । अन्य व्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । नेपाललाई सस्तैमा समेट्ने क्रममा अफगानिस्तानका नभिन उलहक र मुजीबले समान ४÷४ विकेट हात पारे । यसअघि सिंगापुरको पादाङस्थित सिंगापुर क्रिकेट क्लवमा टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ४९.४ ओभरमा अल आउट हुँदै १९० रन बनाएको थियो । अफगानिस्तानको युवा टोलीसामू नेपालको बलिङ आक्रमण प्रभावकारी बन्न सकेन ।

नेपालका शाहव आलामले ३ विकेट लिए भने पवन सर्राफ र कप्तान सन्दिप लामिछानेले दुई दुई विकेट लिए । किशोर महतो र दीपेन्द्रसिंह ऐरीले एक एक विकेट लिए । यसअघिका दुवै खेलमा पहिलो फिल्डिङ गरेको नेपालले विपक्षीलाई सस्तैमा अलआउट गर्न सफल भएको थियो । नेपालले यसअघि पहिलो खेलमा घरेलु टोली सिंगापुरलाई ७३ र दोस्रो खेलमा मलेसियालाई ५८ रनमा समेटेको थियो । नेपालले दुवै खेलमा जित हात पारेको थियो ।

अफगानिस्तानसँगको पराजयसँगै नेपाल न्युजिल्याण्डमा हुने विश्वकपमा छनौट हुने सम्भावना कमजोर बनेको छ । दुई चरणमा हुने छनौटको पहिलो चरणका खेलहरु सकिँदा अपराजित अफगानिस्तान ६ अंकसहित शीर्ष स्थानमा छ भने नेपाल ४ अंकसहित दोस्रो स्थानमा छ । विश्वकपमा छनोट हुनका लागि नेपालले बाँकी तीनै खेल जितेर मात्र पुग्दैन, अफगानिस्तानको नतिजामा पनि निर्भर हुनुपर्छ । समूहको शीर्ष टोलीले विश्वकपमा स्थान बनाउँछ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved